नेपाल संवत् कुनै समय नेपालको मुद्रामा छापिने संवत् थियोः नरेशवीर शाक्य (अन्तर्वार्ता)
साँस्कृति अभियन्ता नरेशवीर शाक्यसहितको समूह नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने उदेश्यका साथ निरन्तर करीब ५० वर्षदेखि लड्दै आएको छ । मुलुकमा पञ्चायती व्यवस्था हट्यो । बहुदल आयो त्यो पनि हट्यो र अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा छौं । लामो कालखण्डमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनका लागि निरन्तर संघर्ष गर्नुभएका शाक्यसँग यी नै विषयसँग केन्द्रित भएर गरेको कुराकानीको अंशः
मुलुकमा पञ्चायती व्यवस्था, बहुदल हुँदै हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा छौं । तपाईँले यो लामो कालखण्डमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनका लागि जुन खालको निरन्तर संघर्ष गर्नुभयो । त्यसले केही उपलब्धीहरु प्राप्त पनि गरेको छ । यो संघर्षलाई कसरी लिनुभएको छ ?
नेपाल संवत्को कुरा गर्दा नेपाल संवत्ले कुनै समय नेपाल भनेकै हामी नेवारहरूको मूलबासी रहेको नेपाल मण्डललाई जनाउने गर्दथ्यो । त्यसकारण, त्यसैबेलादेखि नेपाल संवत् र नेवारहरू बीच एउटा भावनात्मक सम्वन्ध पनि रहँदै आएको छ । नेपाल संवत्ले राष्ट्रिय भावना, देशप्रतिको माया, ममता जागृत गर्ने मात्रै होइन सभ्यताका हिसावले पनि धार्मिक कार्यक्रम, धार्मिक क्रियाकलाप र समाजका अनेकौं कुराहरूमा पनि आफ्नो राष्ट्रलाई प्रमुख स्थानमा राख्ने गर्दथ्यो ।
नेवार समूदायले बोल्ने भाषालाई नेपाल भाषा भनिन्छ । नेपालर समूदायले लेख्ने लिपिलाई नेपाल लिपि भनिन्छ । जुन अहिले विकसित भएर नौथरीका लिपिहरू छन् । अहिले कुनै–कुनै प्रचलनमा छैनन् । रञ्जना लिपि, प्रचलित लिपि आदि इत्यादिहरू भने अहिले पनि चर्चामा छन् । हाम्रो समयको गणना, काल गणनाको निम्ति पनि हामी नेवारहरूले आफ्नै तरिकाबाट संवत् प्रस्थापन गरÞ्र्यौँ । त्यसलाई हामी नेपाल संवत् भन्छौं ।
त्यसकारण, नेपाल शब्द जुन राष्ट्रको नाम छ । त्यसलाई हामी हरेक गतिविधिमा जस्तो हाम्रो संस्कृतिलाई पनि हामी नेपालकै संस्कृति भन्छौं । धर्मलाई पनि हामी नेपालकै धर्म भन्छौं । चाहे त्यो हिन्दु होस्, चाहे त्यो बौद्ध होस् । समग्रमा हामी नेवारहरूले मनाउँदै आएको वा प्रचलनमा रहेको संवत् भनेको नै नेपाल संवत् हो । नेपाल संवत्को कुरा गर्दा हामीले के पनि बुझ्नुपर्छ भने नेपाल संवत् कुनै समय राष्ट्रको संवत् थियो ।
तत्कालीन राजा महाराजाले चलाउने संवत् थियो । त्यतिबेला निस्किने मुद्राहरूमा छापिने संवत् पनि नेपाल संवत् नै थियो । तर, मुख्यगरेर पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका अथवा नेपाल मण्डलको सत्ता आफ्नो हातमा पारेपछि नेपाल संवत्को विस्तारै अवमूल्यन गर्दै गए । अझ भन्ने हो भने उनका पालामा नेवारहरूलाई राज्यस्तरबाटै दमन गर्ने कार्यहरू भए ।
अहिले पनि ऐतिहासिक महत्वको ठाउँमा, पुरातात्विक महत्वका शिलालेखहरूमा नेपाल संवत् नै लेखेको देख्न सकिन्छ । त्यहाँ अन्य संवत् हुँदैन । त्यसले पनि नेपाल संवत्को महत्व कति थियो भन्ने थाहा हुन्छ । नेपालका मौलिक संवत्हरूको कुरा गर्दा नेपालमा मूलतः तीनथरीका संवत् देखिन्छन् । पहिलो मानदेव संवत् । यो नेपालमै जन्मेको संवत हो । यो कुनै आयातित संवत् होइन ।
अहिले चलनमा रहेको विक्रम संवत्लाई सरकारले मान्यता दिएको छ । यो संवत् नेपालको होइन । यो संवत्ले मुख्य गरेर राणाहरूको समयदेखि राज्यस्तरबाट मान्यता पाएको हो । जन–जनको रगतको नलीमा रहेको नेपाल संवत्लाई चाँहि पृथ्वीनाराण शाहका पालदेखि प्राथमिकता दिन छाडेको देखिन्छ । त्यतिबेला उनले नेपाल संवत्लाई गोरखामा चलेको संवत्लाई मान्यतामा ल्याएका थिए ।
नेपाल संवत्को महत्वको कुरा गर्दा एउटा सन्दर्भम उल्लेख गरौँ । अहिले पनि आफ्नो जन्मदिनको कुरा गर्नुहुन्छ भने वा कुनै आफ्ना पुर्खाको मृत्युका दिनका कुराहरू गर्ने हो भने पनि हामी तिथिमा गर्छौं । यो तिथि भनेको नेपाल संवत् अन्तर्गतको तिथि हो । हामीले विक्रम संवत् भने पनि तिथिसँग जाँदाखेरि नेपाल संवत् नै जोडिएर आउँछ । तत्कालीन राजा वीरेन्द्रले पनि तीन पटक आफ्नो जन्मदिन मनाउँथे भनिन्छ । उनले एउटा तारिखको दिनमा, अर्को विक्रम संवत्मा र अर्को आफ्नो तिथिमा । सांस्कृतिक रूपमा जुनसुकै रूपमा लिए पनि हामी नेपालीहरूको रगतको नलीनलीमा नेपाल संवत् बगेर आएको छ ।
तपाईँहरूले पञ्चायतकालको त्यो कालरात्रीमा पनि मंकाखल अभियान चलाउनुभयो । पद्मरत्न तुलाधर, जो अहिले दिवगंत हुनुभएको छ । उहाँ, तपाईँहरुलगायतले बसन्तपुरमा हरेक वर्ष एउटा पर्वको रूपमा त्यो मनाउँदै आउनुभयो । प्रतिबन्धित अवस्थामा पनि तपाईँहरूले नेपाल संवत्को महत्व दर्शाउँदै यसलाई राष्ट्रिय संवत्का रुपमा मनाउनुपर्छ भनेर आन्दोलन गर्नुभयो । जनताहरूलाई जगाउनुभयो । त्यो परिवेशलाई कसरी सम्झिनु हुन्छ ?
मैले सुरुमा पनि भनेँ, यहाँका मूलबासी नेवारहरूलाई राज्यस्तरबाटै दमन नीति बनाएर दमन गर्ने काम भयो । नेवार जातीहरुका कलाकृति नमान्ने, नेवारुहरुको नेपाल संवत्लाई नमान्ने, भाषा नमान्ने काम भयो । पञ्चायतकालकै कुरा गर्ने हो भने बहुभाषिक नेपालमा पञ्चायतमा एक भाषा, एक नीति, एक संस्कृति भनियो र यहाँ यहाँका सम्पूर्ण मातृभाषालाई ‘कोल्याप्स’ गरेर एउटै मात्रै भाषालाई विकसित गर्ने नीति राज्यले बनायो । सुरुदेखि नै हाम्रो भाषा, जातीय धर्मलाई जुन राज्यबाट दमन गरिदैँ आएको थियो । त्यही बेलादेखि हामी आन्दोलित थियौं । साना–साना समूहगत रूपमा रहेको बेलामा हामीले नेपाल भाषा मंकाखल भनेर २०३६ सालमा गठन गर्यौं ।
आफ्नो भाषा महत्वको कुराहरू राज्यसत्ताका सामू राख्नुपर्छ भनेर मूल उद्देश्य नै हाम्रो भाषा, जातीय संस्कृतिमा पञ्चायतकालीन समयमा धेरै दमन भयो भनेर यो कुराहरूलाई हामीले अब सरकारसमक्ष संगठित रूपमा राख्नुपर्छ भनेर मंकाखल बनाएर अघि बढेका हौँ । त्यतिबेला काठमाडौँ, पाटन, भक्तपुरका सम्पूर्ण साना–साना संस्थाहरूलाई हामीले एक ढिक्का गरेर मंकाखलले नेतृत्व गर्ने भनेर अभियान चलायौं ।
मंकाखल भनेपछि यसको नेपाली अर्थ चाहिँ कसरी के हुन्छ ?
मंका भनेको संयुक्त हो अनि खल भनेको संस्था भयो । यसको अर्थ संयुक्त संस्था भन्ने भयो । यस्मा नाम जस्तै सबैको सहभागिता हुन्छ । यसमा भाषाको मात्रै कुरा होइन, जातिको मात्रै पनि कुरा होइन, संवत्को मात्रै पनि कुरा होइन समग्र रूपमा हामी जति पनि उत्पीडनमा रह्यौं, त्यसको विरुद्धमा आवाज उठाउने संस्थाका रुपमा स्थापना गरेर अघि बढाएका थियौँ । म १११२ देखि त्यो संगठनको सचिवमा रहेर काम गरेँ । त्यो संस्थामा सुरुदेखि नै नेतृत्व पद्मरत्न तुलाधरले गर्नुभएको हो ।
अहिलेको अवस्थालाई चाँहि कसरी लिनुभएको छ ?
अहिले पनि अब हाम्रो जस्तो बुहभाषी नेपालका आफ्नै लिपिहरू छन्, आफ्नै भाषाहरू छन् । अहिले पनि नेपालको संविधान हेर्ने हो भने देवनागरी लिपिमा लेखेको नेपाली भाषालाई सरकारको कामकाजको भाषा भनेको छ । हाम्रो आफ्नै मौलिक संवत् छ, मौलिक भाषा छ, मौलिक लिपि छ, मौलिक सबै हुँदाहुँदै पनि यो विदेशबाट आयातित कुराहरुलाई बढी मान्यता किन गरिरहेको छ ? अहिलेको संविधानमा पनि यो कुराहरू छ । त्यसकारण, दमन गर्ने कुराहरू अहिले पनि तोडिएको छैन । दमन भइराखेकै छ, दमन गरिरहेकै छ । अहिले जुन लागिराखेका यो नेपाल सम्बतको मान्यताका कुराहरू गरिरहेका, अहिले पनि सचेत बन्न सक्या छैन ।
अहिले हामी तिहारको नजिकमा छौं । नेपालीहरू सबैले तिहार भन्छन्, तपाईँहरूले स्वन्ति नःख भन्नुहुन्छ । यो तिहार पर्वको महत्व चाहिँ नेवारी समुदायमा कस्तो छ ?
हामी–हामी बीचमा पनि यही भ्रम छ । राज्यले सुरुदेखि नै हामीलाई दमन गरेको–गरेकै छ । हामी दसैँलाई मोहनी नःख र तिहारलाई स्वन्ति नःख भनेर मनाउने गर्छौ । मोहनी खःखलाई दबाएर सबैले दसैँ, दसैँ भन्न थाले । खासमा यो मोहनी मःख हो ।
नेवार जातिलदे पूजा गर्ने पद्धति पनि फरक छ, उद्देश्य पनि फरक छ, लक्ष्य पनि फरक छ । तिहार पनि यही हो । तिहारमा हामी म्हः पूजा गर्छौ । अरु जाति समूदायले त्यो गर्दैनन् । हामी भाईपूजालाई किजा पूजा भन्छौं । अरुले भाइटिका गर्ने र हामीले किजा पूजा गर्ने गर्छौ । यो नितान्त फरक छ । यसमा उद्देश्य फरक छ । लक्ष्य फरक हैन ? प्रविधि फरक छ, सबै फरक छ । अरु समूदाय भाईलाई टिका लगाएर घुम्ने चलन छ । हामी भाईपूजाको दिन भनेर म्हः पूजा गर्छौ । हाम्रो मान्यता अनुसार एकै दिन दुइटा तिथि दुइटा हुन्छ, विवाद छैन । तर, हाम्रो मान्यता के–हो भने सूर्य उदाउँदाखेरि जुन तिथि हुन्छ, त्यही दिन चाहिँ सूर्य अस्तसम्म पनि त्यही तिथि हुन्छ । त्यसकार हामी अष्टमी, नवमी, दशमी भनेर दशैंमा तीन दिनै मनाउँछौं । अरु समूदायलेचाँहि नवमी र दशमी एकै दिन भनेर मनाउने पनि गरेको पाइन्छ । यस्तो हाम्रो समूदायमा हुँदैन ।
हामी स्वन्ति नःखमा पनि अन्तिम दिन लक्ष्मी पूजा गर्छौं । भोलिपल्ट हामी नव वर्ष भनेर म्हः पूजा सहित नयाँ वर्ष मनाउँछौं । पर्सिपल्ट हामी किजा पूजा गर्छौं । हाम्रो प्रचलन नै फरक छ ।
अन्त्यमा नेवार समुदाय र राज्यले थप के गर्नुपर्छ होला जस्तो लाग्छ ?
अहिले मुख्य कुरा त हामी नेवारहरू बीच नै एउटा जागरण जगाउनुपर्छ । जबसम्म हामी जागृत हुँदैनौं, जबसम्म हामी आफ्नो नेवार हुनुको गौरव हामी बुझ्दैनौं । नेवारका भाषा, जातीय, संस्कृतिका कुराहरू हामी बुझ्दैनौं अथवा हामीलाई अवसर हुँदैन । त्यसकारण, अहिले हामीले गर्नुपर्ने कुराहरू भनेको हामी सम्पूर्ण नेवारहरू अब एकै ठाउँ हुनुपर्छ । सम्पदालाई हामीले बचाउन सकेनौं भने, हाम्रो पहिचान नै रहँदैन । त्यो भनेको हाम्रो परिचय पनि रहँदैन । त्यसकारण, यिनीहरूलाई बचाउनका लागि हामीले आफ्नो सम्पदाका संरक्षण गर्नुपर्छ । यो संरक्षणमा हाम्रा मुर्त, अमूर्त दुवै छन् । मुर्त, अमूर्त सम्पदाहरूलाई हामीले सचेत भएर जोगाउनुपर्छ ।