विषादीको असरले कुलेखानी जलाशयमा माछा उत्पादन ह्रास

हेटौँडा, ११ कात्तिक । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य तथा ऊर्जा उत्पादनको स्रोत कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो समय माछाको उत्पादन र तौल दुवै घट्दै गएको पाइएको छ ।

जलाशय वरपरका क्षेत्रमा हुने व्यावसायिक तरकारी खेतीमा प्रयोग गरिने रासायनिक विषादीयुक्त पानी नै माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी संघले जनाएको छ ।

करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा केज (पिँजरा) राखेर माछा उत्पादन भइरहेको छ । इन्द्रसरोवर मत्स्य व्यवसायी संघका उपाध्यक्ष विकास बलामीका अनुसार, प्रतिघनमिटर ४.५ किलोका दरले माछा उत्पादन भए पनि पछिल्ला वर्षहरूमा माछाको औसत तौल र संख्या दुवै घट्दो क्रममा छ ।

बलामीका अनुसार, तरकारी खेतीमा प्रयोग गरिने कीटनाशक र रासायनिक मल बर्षात्को समयमा खोलानाला हुँदै तालमा मिसिने गर्छ । “यो विषादी मिसिएको पानी तालमा पुग्दा माछाको प्राकृतिक खाना (प्लाङ्कटन) र सूक्ष्म जीवमा नकारात्मक असर पुग्छ, जसले गर्दा माछा पहिले जस्तो गतिमा बढ्न सकेका छैनन्,” उहाँले भन्नुभयो ।

विशेषगरी सिल्भर कार्प, बिगहेड र ग्रास कार्प जस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन् । यी माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा निर्भर रहने भएकाले विषादीले ती स्रोतहरू नष्ट गर्दा तौल र वृद्धि दुवैमा कमी आएको बलामीले उल्लेख गर्नुभयो ।

संघले हाल ६५० परिवारलाई शेयर सदस्य बनाई माछा उत्पादन, बिक्री र लाभांश बाँडफाँटको व्यवस्था गरेको छ । यसै आम्दानीले विद्यालय सञ्चालनदेखि सामुदायिक पूर्वाधार मर्मतसम्म सहयोग पुग्ने गरेको छ । माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार, विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ । “पहिले दुई किलोसम्म हुर्किने माछा अहिले डेढ किलो पुग्न पनि गाह्रो छ,” उहाँले भन्नुभयो । मगरका अनुसार, माछाको आकार घटेपछि कृषकले आर्थिक घाटा बेहोर्नु परेको छ ।

कुलेखानी-कलङ्कीका युवा संसार बलामीले तालले गाउँका सयौँ घरलाई रोजगारी दिएको भए पनि माछा साना हुन थालेपछि आम्दानी घटेको र यसले गाउँको अर्थतन्त्रमा असर पारेको बताउनुभयो ।

मत्स्य विकास केन्द्र कुलेखानीकी निमित्त प्रमुख मनिता पौडेलले विषादीका कारण माछाको तौल घट्नु गम्भीर विषय भएको बताउँदै यसको वैज्ञानिक अध्ययन सुरु गरिएको जानकारी दिनुभयो । “हालै गरिएको परीक्षणमा पानीमा रासायनिक अंशको मात्रा सामान्यभन्दा माथि पाइएको छ, त्यसैले यसले माछाको वृद्धि दरमा असर पारेको हुनसक्छ,” उहाँले भन्नुभयो ।
केन्द्रले हरेक वर्ष भदौ महिनाको तेस्रो साता करिब दुई लाख भुरा माछा तालमा छाड्ने गरेको छ । पौडेलले कुलेखानीको माछा प्रायः स्थानीयस्तरमै खपत हुने भएकाले यसको गुणस्तर जोगाउन तालको पानीको स्वच्छता अत्यावश्यक रहेको भन्दै केन्द्रले विद्यालय र समुदायमा जलाशय संरक्षण र स्वस्थ मत्स्यपालनका तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।