नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडाैं, ३ मङ्सिर । बुधबार शेयर बजारमा नेप्से सामान्य अंकले घटेर बन्द भएको छ।

अघिल्ला दुई कारोबार दिनमा सामान्य वृद्धि देखिएको नेप्से, यस दिन ४.९८ अंकले झरेर २५६१.०८ विन्दुमा पुगेको छ। सोही अनुसार, सेन्सेटिभ इण्डेक्स १.२६ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंकले घटेको छ।

नेप्सेसँगै यस दिनको कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा, बुधबार ३३८ स्टकको ५० हजार ६२६ पटकको कारोबारबाट ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँ बराबरका ८३ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

यस दिन ८ वटा कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। माबिलुङ्ग इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। त्यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ६.०३ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा यस दिन बरुण हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको २७ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, साहस उर्जाको साढे १९ करोड रुपैयाँभन्दा बढी र राधी विद्युत कम्पनीको करिब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

बुधबार १३ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *