पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द, विजयपुरमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरु

Modeकास्की, ६ मङ्सिर । पृथ्वीराजमार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा सडक बन्द गरिने भएको छ। यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक पूर्ण वा आंशिक रूपमा बन्द रहने जनाएको छ।

योजना प्रमुख कृष्णबहादुर कुँवरले दैनिक चार घण्टा सडक बन्द हुने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनका चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले आवश्यकताअनुसार प्रत्येक ३० मिनेटमा लाइनमा लागेका सवारीसाधनलाई क्लियर गर्न सकिने पनि जानकारी दिनुभयो।

योजना प्रमुख कुँवरले भन्नुभयो, “पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारीसाधनका लागि सडक पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ। सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।”

मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ। यसैगरी, ठूला सवारीका लागि लेखनाको पावरहाउस चोकदेखि बागमारा हुँदै बिरौटा आउने÷जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ।

देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्गको स्तरोन्नतिका लागि मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत काम भइरहेको छ।

मुग्लिन–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो। जामुनेदेखि आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकांश काम सकिए पनि पोखरादेखि जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँवरले जानकारी दिनुभयो।

यस खण्डको ३८ दशमलव ८८ किलोमिटरमध्ये हालसम्म ३७ दशमलव चार किलोमिटरमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्रे सकिएको छ। त्यसमध्ये २९ दशमलव ६१ किलोमिटर खण्डमा चार लेन र सात दशमलव ७९ किलोमिटरमा दुई लेन कालोपत्रे सम्पन्न भएको छ।

यसैगरी, यस खण्डमा रहेका १२ वटा पुलमध्ये ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख कुँवरले जानकारी दिनुभयो।