एनपीएल: ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए, सुदूरपश्चिम शीर्ष स्थानमा
काठमाडौँ, ९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन्। आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ।
लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ। समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ। तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल नै जितेको लुम्बिनी लायन्स चौथो स्थानमा छ। चितवन राइनोज पाचौँ, कर्णाली याक्स छैटौँ, साविक उपविजेता जनकपुर बोल्ट्स सातौँ र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ।
ब्याटिङमा विदेशी खेलाडी हावी:
दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको छ। कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडी मार्क वाटले एक शतकसहित सर्वाधिक एक सय ४७ रन बनाएका छन्, जुन जारी सिजनको एकमात्र शतक हो। चितवन राइनोजका रवि बोपारा एक सय १८ रनका साथ दोस्रो उच्च स्कोर बनाउने खेलाडी बनेका छन् र उनले दुई अर्धशतकसमेत प्रहार गरिसकेका छन्।
तेस्रो र चौथो उच्च स्कोर बनाउनेको सूचीमा नेपाली खेलाडी रहेका छन्। विराटनगर किंग्सका लोकेश बम एक सय १४ रन (एक अर्धशतक) सँगै तेस्रो स्थानमा छन्। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल एक सय १२ रन (दुई अर्धशतक) सहित चौथो नम्बरमा छन्।
बलिङमा नेपाली खेलाडीको दबदबा:
हालसम्मको बलिङ प्रदर्शन हेर्ने हो भने नेपाली खेलाडी प्रथम स्थानमा छन्। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने सात विकेट लिँदै प्रथम स्थानमा छन्। सुदूरपश्चिमबाट खेलिरहेका विदेशी खेलाडी हर्मित सिंह छ विकेटसहित दोस्रो स्थानमा छन्।
सर्वाधिक विकेट लिने तेस्रो र चौथो नम्बरमा नेपाली खेलाडी छन्। छ विकेट लिएका कर्णाली याक्सका सोमपाल कामी तेस्रो र समान छ विकेट नै लिएका काठमाडौँका कप्तान करण केसी चौथो नम्बरमा छन्। पाँच विकेट लिएर पाँचौँ स्थानमा कर्णाली याक्सका विदेशी खेलाडी मिलिन्द कुमार छन्।
शतक र अर्धशतक:
जारी प्रतियोगितामा हालसम्म एक शतक र दश अर्धशतक प्रहार भएका छन्, जसमा विदेशी खेलाडी नै अगाडि छन्। प्रतियोगिताको एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ११४ रनको अविजित इनिङ खेलेर ४१ बलमै शतक पूरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा छिटो शतक हो। उनी एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत हुन्।
कुल १० अर्धशतकमध्ये नेपालबाट तीन ब्याटर (कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख) ले मात्र एक इनिङमा ५० रन पूरा गरेका छन्। पोखरा एभेन्जर्सका भुर्तेल लगातार दुई खेलमा अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटर हुन्।
टिमको स्कोर:
जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टिममा विराटनगर रहेको छ। उसले पोखराविरुद्ध २२० रन बनाएको थियो, जुन एनपीएल इतिहासकै उच्च स्कोर हो। सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएर दोस्रो स्थानमा छ। सबैभन्दा कम स्कोर बनाउनेमा कर्णाली छ, जो सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दा ९४ रनमा समेटिएको थियो, जुन प्रतियोगिताकै कम स्कोर हो।