सिद्धगुफाको प्रवर्द्धनमा जुट्यो बन्दीपुर गाउँपालिका

तनहुँ, १२ मङ्सिर । नेपालकै ठूलो मानिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका सक्रिय रूपमा जुटेको छ। प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको यो गुफाको व्यापक प्रचारप्रसार गरी अधिकभन्दा अधिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको हो।

पृथ्वीराजमार्गबाट करिब २० मिनेटको पैदल यात्रामा पुगिने सिद्धगुफाको उचित प्रचारप्रसार गर्न सके धेरै पर्यटक आकर्षित गर्न सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ। उहाँका अनुसार सोचेअनुसारको प्रचारप्रसार नहुँदा पर्यटकको उल्लेख्य आगमन हुन सकेको छैन। “यसको जति मात्रामा प्रचारप्रसार भयो त्यति गुफामा आउने मानिसको चहलपहल बढ्छ। यसले बन्दीपुरको पर्यटन पनि उचालिन्छ र यहाँका स्थानीयको आयआर्जन पनि बढ्छ,” अध्यक्ष थापाले भन्नुभयो।

सिद्धगुफाको प्रचारप्रसार राष्ट्रियस्तरमा गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले यसको प्रवर्द्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको जानकारी दिनुभयो। यस ठाउँमा रङरोगन, सिँढी मर्मत, बस्ने आरामस्थल निर्माण लगायतका सौन्दर्यकरणका कामलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।
धार्मिक महत्वका हिसाबले पनि सिद्धगुफा महत्त्वपूर्ण रहेको बताउँदै अध्यक्ष थापाले यहाँ बोलबम मेला लाग्ने गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यहाँ सिद्धबाबाको दर्शन गर्न पाइन्छ, यहाँ दर्शन गरेपछि चिताएको कुरा पुग्छ भन्ने किंवदन्ती छ।” देशका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमध्ये एकपटक पुग्नैपर्ने ठाउँका रूपमा सिद्धगुफालाई स्थापित गर्न गाउँपालिका जुटेको उहाँले उल्लेख गर्नुभयो।

सिद्धगुफा विकास समितिले लामो समयदेखि यसको व्यवस्थापन गर्दै आए पनि समिति निष्क्रिय भएकाले गाउँपालिकाले तत्काल अधिवेशन गर्न निर्देशन दिइसकेको छ। “अब सिद्धगुफाको व्यवस्थापन गाउँपालिका आफैँले गर्ने सोचिरहेको छ। त्यसो हुँदा यसको एकीकृत विकास गर्न सकिन्छ,” अध्यक्ष थापाले भन्नुभयो।

गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर बजारबाट सिद्धगुफा झर्ने बाटोमा रेलिङ निर्माण गरी ढुङ्गा छापेर पैदलमार्ग बनाइएको छ। सिद्धगुफा विकासका लागि नवप्रवर्तन साझेदारी कोषअन्तर्गत रु एक करोड तीन लाख ९५ हजार ३०० मा सौन्दर्यकरणको काम गरिएको अध्यक्ष थापाले बताउनुभयो।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले चालु आर्थिक वर्षमा सिद्धगुफाका लागि रु १० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। स्थानीयवासी भीम घलेले सिद्धगुफाको प्रचारप्रसारमा कमी भएको स्वीकार गर्दै अब गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो।

सिद्धगुफा पुग्नुभएका प्रेमप्रसाद पौडेलले यस ठाउँ आकर्षक रहेको बताउनुभयो। गुफाभित्र रहेका विभिन्न प्राकृतिक आकृतिहरूले थप मोहित बनाउने बताउँदै उहाँले भन्नुभयो, “गुफा त धेरै ठूलो रहेछ, पृथ्वीराजमार्गबाट नजिकै भएकाले यस ठाउँ उपयुक्त गन्तव्यस्थल बन्छ।”

सिद्धगुफाको प्रचारप्रसारका लागि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले मङ्गलबार कार्यसमितिको बैठक गुफाभित्रै सम्पन्न गरेको छ। शाखाका अध्यक्ष डिपी अधिकारीले सिद्धगुफाको प्रचारप्रसारमा जिल्लास्थित सञ्चारकर्मीले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहले पहिलोपटक यो गुफा पत्ता लगाएका थिए।
पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्रागकालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ।

गुफा ४५० मिटर लामो छ। सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तुहरू जस्तै अक्षर मेटिएको तामाका पैसा, माटोबाट बनेको टुक्रिएको पानीको घैँटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दाह्रा र टेराकोटाको शुल्पा र सानो थालजस्ता वस्तुहरू इसं १६ र १७औँ शताब्दीअघिको अनुमान गरिएको छ।

गुफाको केही भागमा पानी भए पनि घामको प्रकाश नहुने भएकाले लेउ नलाग्ने हुँदा चिप्लो छैन। करिब पाँच सय मिटरभित्रसम्म हिँडेपछि गुफाको आकार झनै ठूलो छ। लगभग आठ सय मिटर लम्बाइ रहेको यो गुफाभित्र चुनढुङ्गा पग्लेर बनेका अनेकौँ आकृतिहरू हेर्न सकिन्छ, जहाँ कतै भगवान्को मूर्ति त कतै चराचुरुङ्गी र जनावरका तथा विभिन्न आकृतिहरू भेटिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *