विश्वकप फुटबलको सामूहिक प्रत्यक्ष प्रसारण गर्ने हो? अनिवार्य लिनुपर्नेछ जिल्ला प्रशासनको अनुमति

काठमाडौँ,२८ जेठ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घसंस्था तथा कम्पनीहरूलाई अनिवार्य रूपमा पूर्वस्वीकृति लिन निर्देशन दिएको छ। प्रशासनले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण यस्तो व्यवस्था गरिएको जनाएको हो।

आगामी असार २९ गतेदेखि सुरु हुने विश्वकपका खेलहरू ठूलो पर्दा (प्रोजेक्टर) मा सामूहिक रूपमा प्रदर्शन गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता राम रिजालले जानकारी दिए।

अनुमति नलिई रातिको समयमा खेल देखाउने बहानामा भीड जम्मा गर्दा समुदायमा नकारात्मक असर पर्ने र शान्ति-सुरक्षा खलबलिने जोखिम रहने भन्दै प्रशासनले सचेत गराएको छ। “अनुमतिबिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल तथा गैरकानुनी गतिविधि गरेको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ,” सूचनामा उल्लेख छ।

खेलको प्रत्यक्ष प्रसारणका लागि अनुमति लिन चाहने संस्थाहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटमा उपलब्ध ढाँचाअनुसार निवेदन दिनुपर्नेछ। प्राप्त निवेदनमा उल्लेख गरिएको स्थान र सुरक्षा संवेदनशीलताको मूल्यांकन गरिनेछ। प्रशासनले तोकेका सुरक्षा सम्बन्धी सर्तहरूको अधीनमा रहेर मात्र प्रदर्शनको अनुमति प्रदान गरिनेछ।

प्रशासनले विश्वकपका बेला हुनसक्ने सम्भावित झै-झगडा, ध्वनि प्रदूषण र अन्य सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो कडाइ गरेको हो।