इस्ट बङगालको विजयी सुरुआत, कराँची र ट्रान्सपोर्ट युनाइटेड गोलरहित

काठमाडौँ, २२ मङसिर । साफ महिला क्लब च्याम्पियनसिपमा सोमबार भारतको इस्ट बङगाल एएफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–० ले हराएर पहिलो खेलमै तीन अङ्क बनाउन सफल भएको छ । दोस्रो खेलमा पाकिस्तानको कँराची सिटी फुटबल क्लब र बंगलादेशको नासरिन स्पोट्र्स एकेडेमी गोलरहित बराबरी खेले ।

पाकिस्तानको कँराची सिटी फुटबल क्लबले उद्घाटन खेलमा ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग पनि गोलरहित बराबरीमा खेलेको थियो । बङगलादेशको नासरिन भने आफ्नो पहलिो खेलमा एपिएफसँग ४–० को पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा इस्ट बङगालका लागि युगान्डाकी फाजिला इक्वापुटले दुई तथा सुलन्जना राउल र रेस्टी नानजिरी एक एक गोल गरे ।

प्रतियोगितामा एपीएफ, भारतको इस्ट बङगाल एफसी, बङगलादेशको नासरिन स्पोट्र्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराँची सिटी एफसी गरी पाँच टिम सहभागी छन् ।

कुल पाँच टिमको सहभागिता रहेको प्रतियोगितामा लिग चरणपछि अङक तालिकामा शीर्ष दुई स्थानमा रहने टिम बिच फाइनल हुनेछ ।