उपत्यकाका विभिन्न १५ वटा फर्ममा अनुगमन गर्दा चार फर्मलाई जरिवाना

काठमाडौँ, २३ मङ्सिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा चार वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गरेको भन्दै ती फर्महरूलाई जरिवाना गरेको हो। विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवानासहित कारबाही गरेको छ।

त्यसैगरी, भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान रु १० हजार जरिवाना गरिएको छ। काठमाडौँ महानगरपालिका–१६ मा रहेको इमरान रेडिमेडलाई पनि रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ। यी फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ को ‘घ’ को कसुरमा कारबाही गरिएको हो।

सोमबार विभागले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न १५ वटा फर्ममा अनुगमन गरेको थियो। त्यसमध्ये ११ वटालाई सामान्य निर्देशन दिई व्यवसायमा आवश्यक सुधार गर्न र कानुन परिपालना गर्न निर्देशन दिइएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ