दैलेखको रातामाटामा ‘बर्थिङ सेन्टर’ टाढा, गर्भवतीलाई स्ट्रेचरमा बोक्ने पुरुषको अभाव

दैलेख, २४ मङ्सिर । दैलेखको भगवतीमाई गाउँपालिका–३, मेलतोलीकी ३५ वर्षीया अमृताकुमारी खड्काले भड्खरै दोस्रो सन्तानलाई जन्म दिइन्। घरको दोस्रो तल्लामा आफ्नो नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहेकी अमृताको छेउमा ६ वर्षीया छोरी लुटपुटिँदै थिइन्।

गर्भावस्थादेखि सुत्केरीसम्मको पीडाबारे सोध्दा अमृताले भनिन्, “महिलालाई, त्यसमाथि गर्भावस्था र सुत्केरी हुँदाको दुःख कष्ट कहिले पाउनु? प्रसव पीडाबिना नयाँ सृष्टि कहाँ हुन्छ र?” तर, उनको अनुहारमा खुसीको चमक पनि देखिन्थ्यो। छोरा पाएकोमा खुसी भएको हो? भन्ने प्रश्नमा उनले भनिन्, “होइन होइन। अहिलेको जमानामा छोराले भन्दा छोरीले पाल्छन्। नानीबाबुमा केही फरक छैन। नानी जन्माउनभन्दा बाबु पाउन सजिलो भयो भनेर। खासै पीडा भएन भनेर।”

अमृता आफ्ना सुत्केरी हुँदाका पीडाभन्दा पनि स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाहरूले गरेको सहयोग सुनाउन आतुर देखिन्थिन्। स्वास्थ्यकर्मीले दिएको मितिभन्दा करिब १५ दिनअघि नै उनी सुत्केरी भएकी थिइन्। सुत्केरी व्यथाले च्याप्नेबित्तिकै उनका पति निर्मल खड्काले छिमेकीको सहायताले स्ट्रेचरमा बोकेर घरभन्दा करिब एक घण्टा टाढाको बर्थिङ सेन्टर पुर्‍याएका थिए। निर्मल भन्छन्, “गर्भवतीलाई स्ट्रेचरमा बोक्नुको अर्को विकल्प यहाँ छैन। बर्थिङ सेन्टर त छ, तर टाढा पर्छ। सेवा त ठीकै छ।”

गाउँका महिला स्वयंसेविकाहरूले अमृताको गर्भावस्थादेखि सुत्केरी नहुँदासम्म निरन्तर ख्याल राखे। अमृताले भनिन्, “आज पनि तपाईं आउनुअघि स्वयंसेविका आउनुभएको थियो। मलाई र बाबुलाई केही समस्या भएको छ कि छैन भनेर सोध्नुभयो। मैले ठीकै छ भनिदिएँ। स्वयंसेविकाका सबै सल्लाह मानेका कारणले गर्भावस्थादेखि सुत्केरी हुन सजिलो भयो। श्रीमान्ले भन्दा महिला स्वयंसेविकाले ख्याल गर्दछन्। प्रसव पीडा हराइसक्यो, भुलिसक्यो। सम्झेर पनि के गर्नु र?”

रातामाटामा गठन भएका स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाहरू गर्भवती तथा नवजात शिशुको स्याहारमा साँझबिहान खटिने गर्छन्। गाउँमा एम्बुलेन्स नभएको र युवा तथा पुरुषहरू कामको खोजीमा अन्यत्र गएकाले कतिपय अवस्थामा उनीहरूले नै गर्भवतीलाई स्ट्रेचरमा बोकेर बर्थिङ सेन्टर पुर्‍याउनुपर्ने बाध्यता छ। यहाँका गर्भवतीका लागि स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाहरू नै भरोसा बनेका छन्।