एमाले पदाधिकारीमा फेरबदल: उपाध्यक्षको सङ्ख्या घट्यो, सचिवको बढ्यो
काठमाडौँ, २८ मङ्सिर । नेकपा एमालेको तीन महिनाअघि विधान महाधिवेशनबाट पारित भएको विधान एघारौँ महाधिवेशनबाट संशोधन हुने भएको छ।
एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौँ महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो।
केन्द्रीय कमिटीबाट पारित यो निर्णय अब महाधिवेशनको हलमा प्रस्तुत गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। विधान संशोधनपश्चात् बन्ने नयाँ पदाधिकारीको सङ्ख्या १९ नै रहनेछ।
गौतमका अनुसार, नयाँ संरचनामा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने निर्णय भएको छ। यसअघि भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या घटाएर १५ बनाउने निर्णय गरेको थियो, तर अन्तिम अवस्थामा पुन: पदाधिकारी सङ्ख्या नघटाइने भएको हो।
यद्यपि, यसअघि पदाधिकारीमा रहेको वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ। महासचिव र उपमहासचिवको सङ्ख्या यथावत् राखिएको छ। दशौँ महाधिवेशनमा पनि एमालेले एक जना महासचिव र तीन जना उपमहासचिव रहने गरी पदाधिकारी बनाएको थियो।
यसपटक उपाध्यक्षको सङ्ख्या भने घटाइएको छ। यसअघि एमालेमा ६ जना उपाध्यक्ष थिए, जसलाई विधान संशोधनमार्फत ५ मा झारिएको छ। त्यसैगरी, यसअघि ७ जना रहेका सचिवको सङ्ख्या बढाएर ९ बनाइएको छ।