एमाले महाधिवेशन: ३ घण्टामा साढे ३०० मत खस्यो
काठमाडौं, २ पुस । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रियामा सुस्तता देखिएको छ।
बिहान साढे ११ बजेसम्ममा कुल साढे तीन सय मत मात्र खसेको निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ।
गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो। एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरू छन्। यस हिसाबले मतदान सकिएर नतिजा आउन ढिलाे हुने अनुमान गरिएको छ।
मतदानको सुरुवात शीर्ष नेताहरूले गरेका थिए। अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गर्नुभएको थियो।
एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ। मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ।