चुँदीरम्घामा ‘भानु साहित्य उद्यान’ निर्माणले गति लियो : २० करोड रुपियाँ बजेट विनियोजन
काठमाडौँ, पुस २ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका-४, चुँदीरम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण प्रक्रियाले तीव्रता पाएको छ । लामो समयदेखि चर्चामा रहेको यो आयोजना अघि बढाउन सहरी विकास मन्त्रालय र स्थानीय सरकार सक्रिय भएका छन् ।
चालु आर्थिक वर्षका लागि सहरी विकास मन्त्रालयले यस आयोजनाका लागि २० करोड रुपियाँ विनियोजन गरेको छ । पहिलो चरणको ठेक्का प्रक्रिया अघि बढाउन मन्त्रालयका महानिर्देशक सहितको उच्चस्तरीय प्राविधिक टोलीले निर्माण स्थलको अवलोकन गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । टोलीले करिब ३.५ किलोमिटर सडकको स्तरोन्नति, भानु शालिक उद्यानको पुनर्निर्माण र रम्घाडाँडामा भानुभक्तको विशाल प्रतिमा स्थापना गर्ने स्थानको विस्तृत निरीक्षण गरेको छ।
नगर प्रमुख त्रिपाठीका अनुसार ४०० रोपनीभन्दा बढी जग्गा अधिग्रहण भइसकेको यो क्षेत्रलाई ‘सप्तधाम’ को रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । आदिकवि भानुभक्तको योगदानलाई कदर गर्दै ओझेलमा परेको उहाँको जन्मथलोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक पर्यटकीय गन्तव्य बनाउने योजना छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष पहल रहेको यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजना र बहुवर्षीय योजनामा समावेश गराउन नगरपालिकाले प्रयास गरिरहेको छ ।
प्रस्तावित गुरुयोजना अनुसार उद्यान क्षेत्रमा भानुभक्तको विशाल सालिक र रामायण मन्दिर, भानुभक्तकालीन घर, जनजीवन र रहनसहन झल्किने नमुना बस्ती, सातै प्रदेशको प्रतिनिधित्व हुने ‘सप्तधाम’, मूर्ति वाटिका, भानु साहित्य ग्राम र भानु प्रज्ञा भवन, वनस्पति उद्यान, मनोरञ्जन वनभोज स्थल र प्राकृतिक वन विचरण क्षेत्र, साहित्यिक पदमार्ग र सम्पदा संरक्षण क्षेत्र निर्माण हुनेछ ।
साहित्यिक उद्यान निर्माणको तयारीका लागि पछिल्ला दुई आर्थिक वर्षमा करिब १ करोड ८० लाख ४१ हजार ५ सय रुपियाँ खर्च भइसकेको जनाइएको छ । सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने भानुभक्तको सम्मानमा यो उद्यानलाई समय सन्दर्भ अनुसारको आधुनिक धाम बनाउने परिकल्पना सहित काम अघि बढाइएको छ ।