एमाले महाधिवेशन: रातभर चल्यो मतदान, नतिजा आज बिहान ११ बजे सार्वजनिक गरिने
काठमाडौँ, ३ पुस । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया रातभर जारी रही अन्तिम चरणमा पुगेको छ।
निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार मतदान प्रक्रिया अब समापनको नजिक पुगेको छ र एक घण्टाभन्दा कम समयमा मतदान सकिनेछ।
सचिव लामाले दिएको जानकारी अनुसार अब करिब १०० मत मात्र खस्न बाँकी छ। “अहिले ८० वटा विद्युतीय मेसिनमार्फत ८० जनाले मतदान गरिरहेका छन् भने करिब २० जना होल्डिङ सेन्टरमा पालो कुरिरहेका छन्,” उनले भने।
महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेका छन्। आयोग स्रोतका अनुसार करिब ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएका छैनन्।
मतदान सम्पन्न हुनासाथ गणना सुरु गरी आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। एमाले निर्वाचन आयोगले बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गराउने कार्यक्रम तय गरेको छ।