हेटौँडामा चल्यो डोजर : २५ मिटर सडक खाली गराउन ५३१ घर भत्काइँदै, दशकौँदेखिको प्रयास बल्ल कार्यान्वयनमा

 

हेटौँडा, ,२० मङ्सिर  । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले आज बिहानैदेखि ‘एक्सन’ सुरु गरेको छ। लामो समयको विवाद र प्रयासपछि सडक डिभिजन हेटौँडाले २५ मिटर सडक सीमाभित्र पर्ने घर तथा टहरा भत्काउन डोजर चलाएको हो।

म्याद सकियो, सडक डिभिजन सडकमा
सडक डिभिजन कार्यालय हेटौँडाले गत मंसिर ५ गते ३५ दिने सूचनाको म्याद घटाउँदै १५ दिनभित्र सडक क्षेत्र खाली गर्न अन्तिम अल्टिमेटम जारी गरेको थियो। कार्यालयले दिएको १५ दिने म्याद सकिएलगत्तै आज (शनिबार) बिहानैदेखि सडक डिभिजनको टोली डोजर, आवश्यक बन्दोबस्तीका सामान र सुरक्षाकर्मीसहित सडकमा उत्रिएको छ। हाल हेटौँडाको राप्तीरोड क्षेत्रबाट अनधिकृत संरचना भत्काउने कार्य सुरु भएको छ।

२०३४ सालदेखिको अवरोध चिर्दै
हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्ने प्रयास २०३४ सालदेखि नै हुँदै आएको थियो। तर, स्थानीयको विरोध र राजनीतिक दबाबका कारण पटक–पटक विस्तार कार्य रोकिँदै आएको थियो। दशकौँदेखि पेचिलो बनेको यो मुद्दामा यसपटक भने सडक डिभिजन पछि हटेको छैन।

सांसदको आग्रह र पत्रको पर्खाइ
सडक विस्तार कार्य रोक्न अन्तिम समयसम्म पनि प्रयास भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान समानुपातिक सांसद विन्दबासिनी कंसाकारसहित केही सरोकारवालाहरूले मंसिर २६ गते सरोकारवालाबीच छलफल हुने भन्दै तत्काल घर नभत्काउन आग्रह गरेका थिए।

यद्यपि, सडक डिभिजन कार्यालयले शुक्रबार दिउँसो ३ बजेसम्म पनि उक्त विषयमा आधिकारिक पत्र प्राप्त नभएको जनाएको छ। आधिकारिक पत्र नआएपछि पूर्वघोषित सूचना अनुसार नै विस्तार कार्य अघि बढाइएको डिभिजन प्रमुखले स्पष्ट पारेका छन्।

कहाँ–कहाँ भत्काइँदै छ ?
सडक डिभिजनका अनुसार हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्मको क्षेत्रमा सडक विस्तार अभियान सञ्चालन गरिएको छ। यस अभियान अन्तर्गत सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रमा पर्ने ५३१ वटा निजी तथा सरकारी संरचनाहरू हटाइनेछ।

वैकल्पिक ट्राफिक व्यवस्थापन
डोजर चल्न थालेपछि मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित हुन नदिन ट्राफिक प्रहरीले वैकल्पिक बाटोको व्यवस्था मिलाएको छ। सडक विस्तार कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।