एमाले महाधिवेशन: मतगणना ८ बजेदेखि, ३ घण्टाभित्र परिणाम सार्वजनिक गर्ने तयारी
काठमाडौँ, ३ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगले मतगणना सुरु भएको ३ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।
आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने लक्ष्य राखिएको छ। यद्यपि, मुचुल्का उठाउने र आवश्यक सहमति कायम गर्ने लगायतका प्राविधिक प्रक्रिया पूरा गर्न केही समय लाग्न सक्ने उनले बताए।
महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकोमा २ हजार २ सय २७ जनाले मतदान गरेका छन् भने ३६ जना अनुपस्थित रहे। ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ६ सय ४२ जनाको उम्मेदवारी परेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन (EVM) प्रयोग गरिएकाले गणना कार्य छिटो हुने आयोगले जनाएको छ।
नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएको हो।