केन्द्रीय सदस्यहरूलाई सामाजिक अनुशासन र मर्यादा कायम राख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, ४ पुस । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई पार्टीको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि नगर्न निर्देशन दिनुभएकाे छ ।

अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्ताे निर्देशन दिनुभएकाे हाे ।

अध्यक्ष ओलीले पार्टी लोकतान्त्रिक भए पनि नीति र सामूहिक हितविपरीत बोल्ने छुट कसैलाई नभएको स्पष्ट पार्दै भन्नुभयाे, “चित्त नबुझेका कुराहरू नेतृत्वसमक्ष राख्नुस्, तर पार्टीको प्रतिष्ठामा आँच आउने गरी मिडियामा गएर बोल्ने काम नगर्नुस्।” उहाँले राष्ट्रिय स्वार्थ र पार्टी हितविपरीत सार्वजनिक अभिव्यक्ति दिनुलाई स्वतन्त्रता भन्न नमिल्ने बताउनुभयाे ।

सम्बोधनका क्रममा हलमा मोबाइल बजेपछि अध्यक्ष ओलीले बैठकको अनुशासनबारे सचेत गराउनुभयाे। उहाँले भन्नुभयाे, केन्द्रीय कमिटी बैठकमा मोबाइल बज्न हुँदैन भन्दै नेताहरूलाई सामाजिक अनुशासन र मर्यादा कायम राख्न निर्देशन दिनुभयाे

महाधिवेशनको निर्वाचन प्रक्रिया सकिएसँगै पार्टीमा अब कुनै प्यानल वा गुट नरहेको उद्घोष गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, “चुनावसम्म प्यानल थियो होला, तर अब एमालेमा कुनै प्यानल छैन, हामी सबै एकताबद्ध छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *