नवलपुरमा आजदेखि ‘प्रथम कावासोती गोल्डकप’ सुरु : उद्घाटन खेलमा गण्डकी पुलिस र कावासोती ‘ए’ भिड्ने
काठमाडौँ, पुस ५ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा आजदेखि ‘प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता-२०८२’ सुरु हुँदैछ ।
कावासोती नगरपालिका-१६, डण्डास्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा आयोजना हुने यस प्रतियोगिताको उद्घाटन खेलमा आज गण्डकी पुलिस क्लब र आयोजक टोली कावासोती ‘ए’ बिच प्रतिस्पर्धा हुनेछ। सनलाइट सामुदायिक विकास केन्द्रको आयोजना तथा कावासोती नगरपालिकाको प्रवर्धनमा सञ्चालन हुन लागेको यस प्रतियोगितामा देशभरका कुल १२ वटा प्रतिष्ठित टिमहरूको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख १ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ५० हजार रुपियाँ हात पार्नेछ। यस्तै, सेमिफाइनलसम्म पुग्ने दुई टोलीलाई प्रोत्साहन स्वरूप जनही २५ हजार रुपियाँ प्रदान गरिने खेलका आर्थिक संयोजक तेजबहादुर केसीले बताउनुभयो ।
स्थानीय स्तरमा फुटबल खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने, युवाहरूलाई खेलकुदमा आकर्षित गर्ने र कावासोती क्षेत्रलाई खेल पर्यटनको हबका रूपमा विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । आगामी पुस १६ गतेसम्म चल्ने यस गोल्डकपलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ ।
नवलपुर जिल्ला फुटबल सङ्घ र कावासोती नगरपालिका वडा नं. १६ को समन्वयमा हुन लागेको यस ऐतिहासिक खेलकुद महोत्सवले जिल्लाको समग्र खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।