‘जेन–जी’ को नाममा सरकारले त्रास फैलायो, चुनावको वातावरण छैन : केपी ओली
काठमाडौं, १० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ‘जेन–जी’ का नाममा समाजमा अनावश्यक त्रास फैलाएको आरोप लगाउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित स्वयंसेवकलाई धन्यवाद दिने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले युवाहरूलाई देखाएर ‘मिडिया ट्रायल’ गरिरहेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले सरकारले नवयुवाहरूको नाम फेरेर उनीहरूलाई हाउगुजीको रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चाबच्चीलाई भूत आयो भनेर तर्साएजस्तै सरकारले ‘लौ जेन–जी आयो, यसले यसो गर्छ र उसो गर्छ’ भन्दै त्रास देखाइरहेको छ । नवयुवाहरूको नाम फेरेर जेन–जी राखिएको छ, यसका नाममा टाठाबाठाले स्वार्थ पूर्ति गरिरहेका छन् ।”
निर्वाचनको वातावरण बनाउन राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्री र दलहरूबीच भइरहेको छलफलप्रति सङ्केत गर्दै ओलीले अहिले मुलुकमा चुनावको कुनै वातावरण नरहेको जिकिर गर्नुभयो । राष्ट्रपतिले चुनावमा जोड दिए पनि सरकारले त्यसका लागि उपयुक्त परिस्थिति निर्माण गर्न नसकेको उहाँको भनाइ थियो । “राष्ट्रपति र प्रधानमन्त्रीले चुनाव गराऔँ भन्नुहुन्छ, त्यो ठिकै छ । तर खोइ वातावरण ?,” ओलीले प्रश्न गर्नुभयो, “अहिले त नेताहरूलाई बाहिर निस्कन समेत नदिने र डराउनुपर्ने गरी त्रासको वातावरण बनाइएको छ । जेन–जीको नाममा डर देखाएर राजनीति गर्न खोजिएको छ ।”
अध्यक्ष ओलीले नेकपा एमाले चुनाव विरोधी शक्ति नभएको स्पष्ट पार्नुभयो । उहाँले आफूहरू प्रतिगमनको विरोधी भएको र संसद्को उपस्थितिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले संसद् पुनःस्थापनाको माग गरेका हौँ, किनकि हामीलाई संसद्को उपस्थिति चाहिन्छ । यसबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले हामी फैसलाको पर्खाइमा छौँ ।”