संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, शान्तिपूर्ण वातावरणमा चुनाव हुने हो भने त्यसको सामना गर्न एमाले तयार छ : अध्यक्ष ओली
काठमाडौ, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने हाे भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताउनुभएको छ ।
नेकपा (एमाले)को हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताउनुभयो । “अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन । वातावरण बनाउने सरकारले हो । हामीले वातावरण बिगारेका छैनौँ । वातावरण बन्छ भने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ ।
अध्यक्ष ओलीले भन्नुभयो, “देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्छ । राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो । यी अभिभाराहरु हाम्रो काँधमा रहेका छन् । युवाहरु गलत सङ्गत सोच तथा व्यक्तिगत स्वार्थीका पछाडि लाग्नुहुन्न ।’’