बागमती प्रदेशमा ४ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन : चितवन जिल्ला अग्रस्थानमा

काठमाडौँ, पुस १२ । बागमती प्रदेशमा यस वर्ष धान उत्पादनमा उत्साहजनक वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार विगतका वर्षहरूको तुलनामा अनुकूल मौसम र न्यून प्राकृतिक अवरोधका कारण धान बालीको उत्पादनमा सुधार आएको हो ।

निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए अनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा चार लाख ५१ हजार ७८ मेट्रिक टन उत्पादन भएको छ । यस वर्ष उत्पादकत्व दर प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिक टन कायम भएको छ ।

विगतका वर्षहरूमा जस्तो बाढी-पहिरोको वितण्डा नभएको र बालीमा रोग-किराको प्रकोप समेत न्यून रहेकाले उत्पादनमा सकारात्मक प्रभाव परेको निर्देशनालयको विश्लेषण छ । अघिल्लो आव २०८१/८२ मा असोज अन्तिम साता आएको भीषण वर्षा र बाढीका कारण धान बालीमा ठूलो क्षति पुग्दा उत्पादनमा १ दशमलव ३७ प्रतिशतले ह्रास आएको थियो । यस वर्ष भने समयमै वर्षा हुनु र बाली थन्काउने बेला मौसम अनुकूल रहनुलाई उत्पादन वृद्धिको मुख्य श्रेय दिइएको छ ।

तथ्याङ्क अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी धान उत्पादन गर्ने जिल्ला चितवन बनेको छ । चितवनमा २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा एक लाख ३५ हजार ५३२ मेट्रिक टन धान फलेको छ । यस्तै, काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा उत्पादकत्व दर सबैभन्दा बढी (प्रतिहेक्टर ५.५३ मेट्रिक टन) देखिएको छ । उपत्यकामा काठमाडौँबाट १७ हजार ९२८, ललितपुरबाट १९ हजार ७३२ र भक्तपुरबाट १४ हजार ९१४ मेट्रिक टन धान उत्पादन भएको छ ।

जिल्लागत उत्पादनको स्थिति:

  • नुवाकोट : ४७ हजार ९७८ मेट्रिक टन

  • धादिङ : ४७ हजार २०३ मेट्रिक टन

  • सिन्धुली : ४६ हजार ५६८ मेट्रिक टन

  • काभ्रे : ३४ हजार ५१४ मेट्रिक टन

  • मकवानपुर : ३२ हजार ९५१ मेट्रिक टन

  • सिन्धुपाल्चोक : २३ हजार ९३७ मेट्रिक टन

  • रामेछाप : २० हजार ८४ मेट्रिक टन

  • दोलखा : ७ हजार ३०८ मेट्रिक टन

  • रसुवा : २ हजार ४३१ मेट्रिक टन

गत आव २०८१/८२ मा एक लाख पाँच हजार ४१५ हेक्टरमा खेती हुँदा चार लाख आठ हजार ३१६ मेट्रिक टन मात्र उत्पादन भएको थियो । आव २०८०/८१ को तुलनामा क्षेत्रफल केही घटे पनि आधुनिक प्रविधिको प्रयोग र उन्नत बिउका कारण उत्पादकत्व दरमा भने क्रमिक सुधार देखिएको कृषि विज्ञहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *