‘तमु ल्होसार’ देशभर मनाइँदै, काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायको भव्य उपस्थिति

काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व देशभर धूमधामका साथ मनाउँदैछन् ।

गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुने भएकाले वर्ष फेरिने यस दिनलाई ‘तमु ल्होसार’ का रूपमा मनाउने गरिएको हो ।

तमु ल्होसार पर्वको सम्बन्ध सूर्यको किरण र प्रकृतिसँग जोडिएको छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वत लगायतका जिल्लाहरूमा सूर्यको ताप र प्रकाश पहिले आउने भएकाले पुस १५ मै यो पर्व मनाउने परम्परा रहेको जानकारहरू बताउँछन् । यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास रहेको क्षेत्रमा सूर्यको ताप पुग्ने भएकाले उनीहरूले माघ र फागुनमा ल्होसार मनाउने गर्दछन् ।

भौगोलिक र खगोलीय दृष्टिले पनि आजको दिनको विशेष महत्त्व छ । पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र यसपछि क्रमशः रात घट्दै र दिन लम्बिँदै जाने भएकाले यसलाई नयाँ प्रकाश र ऊर्जाको सुरुवातका रूपमा लिइन्छ ।

तमु ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । पर्वको अवसरमा संघीय राजधानी काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक महोत्सवको आयोजना गरेका छन् । आइतबारदेखि सुरु भएको उक्त महोत्सवमा गुरुङ समुदायका मानिसहरू आ–आफ्नो परम्परागत एवं मौलिक वेषभूषामा सजिएर सहभागी भएका छन् ।

महोत्सवमा गुरुङ संस्कृतिको पहिचान झल्काउने विभिन्न सांस्कृतिक झाँक्री, नाच र परम्परागत खानपिनका परिकारहरूको प्रदर्शनी समेत गरिएको छ । टुँडिखेलमा आयोजित महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ, जसले गर्दा राजधानीको वातावरण उत्सवमय बनेको छ ।