‘वैकल्पिक शक्ति’ भनिएकाहरूलाई शंकर पोखरेलको प्रश्न: मन्त्री पदमै हुँदा उपसभापति बनाउनु कति उचित?

काठमाडौँ, १५ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भएको पछिल्लो नियुक्तिलाई लिएर गम्भीर नैतिक प्रश्न उठाउनुभएको छ।

आफूलाई ‘वैकल्पिक शक्ति’ दाबी गर्ने दलले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नै नदिई पार्टीको उपसभापति बनाएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नयाँ राजनीतिको वकालत गर्ने दलको यो कदम राजनीतिक संस्कार र मर्यादा विपरीत रहेको संकेत गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो?”

रास्वपाले हालै सम्पन्न आफ्नो सांगठनिक विस्तारका क्रममा मन्त्री पदमा बहाल रहेकै व्यक्तिलाई उपसभापतिको जिम्मेवारी सुम्पिएपछि एमाले महासचिवको यस्तो प्रतिक्रिया आएको हो ।

विशेष गरी निर्वाचन सम्पन्न गराउनका लागि गठन गरिएको गैरदलीय सरकारका सदस्यहरू कुनै दलको सक्रिय पदाधिकारी हुनुले निष्पक्षतामा प्रश्न उठ्न सक्ने र यसले स्थापित राजनीतिक मूल्य मान्यतालाई चुनौती दिने पोखरेलको तर्क छ।