नयाँको आ–आफ्नै पारा

प्राइमरी इलेक्सनको धज्जी उडाउने रवि, बालेनको रोजाइमा धनाढ्य, कुलमानलाई आफन्तै प्यारा

काठमाडौं, १६ पुस । ‘पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा ! त्यो पनि प्राईमरी भोटिङकै धज्जी उडाउँदै अग्रपंक्तिमा नाम सुरक्षित गरिने यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन ।’

डा. तोसिमा कार्की, निवर्तमान सांसद् (रास्वपा)

हतारमा भएका त्रुटिहरु सच्याएर अघि बढौ ! जय घण्टी

(ज्वाला संग्रौला केन्द्रीय सदस्य रास्वपा)

रास्वपाले ‘प्राइमरी’ को सर्हानीय प्रयास थालेको थियो । तर, हरपटक त्यसलाई लतारेको देख्दा उदेक लागेर आयो । अनि राम्रालाई हाम्रा भन्दा सायद दुख गर्ने छुटे, टिलिक्क परेका परे । (फेरि अब रीप लेख्ने र उपदेश दिने सक्रिय भैहाल्छन् ।

(सञ्चारकर्मी राजेन्द्र बानियाँ)

हिजो हतार–हतार कुलमान, रवि र बालेन सबैलाई मिलाउँदा समानुपातिक सूचीमा रास्वपाबाट केही त्रुटिहरू भएका छन् । मिडियामा आएजस्तो सबै जिल्ला जे देखिन्छ त्यसमा सुधार हुँदैछ । सम्भवतः अझै सच्याउन मिल्ने अवस्था छ । हामीले गल्ती नगर्ने होइन, गल्ती गर्छौँ; तर थाहा पाएपछि सुधार्छौँ पनि भनेर उत्तर दिनुपर्छ । आशा छ, कुलमान, रवि र बालेनले जनताले समानुपातिक सूचीमा उठाएको आवाज सुन्नुहुनेछ र सुधार गर्नुहुनेछ । मैले पनि सुन्ने ठाउँमा सुनाउने प्रयास गर्छु ।

मेरो जनतालाई बिन्ती—नयाँ भनेर अन्धविश्वास नगरिदिनुहोस् है । सबैलाई प्रश्न नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा हुन धेरै समय कुर्नु पर्दैन ।
प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन, चाहे नयाँ हुन् चाहे पुराना । सबै मिलेर जनताको आवाज सुनेर, जवाफदेही भएर नै देश बन्छ ।’

सागर ढकाल

समानुपातिक सिफारिस, नाम चर्चा र यथार्थता (व्याक्तिगत धारणा ) रास्वपा गल्ती सच्चाउ । राजनीतिमा सक्षम हुनु र कुनै पेशामा सफल हुनु एउटै कुरा होइन भन्ने आधारभूत सत्य फेरि एकपटक बेवास्ता गरिएको देखिन्छ ।

राजनीति गर्न जसले सक्छ उसले गर्ने हो । यहाँ ‘सक्ने’ भन्नाले विचार, त्याग वा संघर्ष होइन; पैसा, पहुँच र पहिल्यै स्थापित हैसियत जनाइन्छ । बाँकीहरूका लागि राजनीति केवल आन्दोलनमा मर्न, नारा बोकेर लड्न र अन्त्यमा चुप लाग्नका लागि मात्र बाँकी रहन्छ ।

(विदेशमा रहनु भएका सञ्चारकर्मी उमाकान्त पाण्डेले एउटा चित्र पनि सेयर गरेर लेख्नु भएको छ– नोट ः यहाँ फिगर देखाएर महिलाको र सीम्बोलिक रूपमा देखिएका बालेन जस्ता र रवि जस्तो अनुहार देखिएकोले उनैको विरोध गरेको भन्ने नलिनु होला , कुरा प्रवृतिको हो – व्याक्तिगत होइन )

मलाई त लागेको थियो नयाँ बाट एउटा पनि गल्ती हुने छैन र पुराना ले औंला उठाउने मौका पाउने छैनन् ! तर त्यस्तो त होइन रहेछ, यहाँ त निमुखा बर्ग र जातीहरु लागि छुट्याइएको कोटाहरु मा त मिस नेपाल हुने रहेछन्, आफ्नो ससुराबा, देश बेचुवा ठेकेदार को छोरा , आफ्नो आगडि पछाडि दौडिरहने आसेपासे , हुँदा हुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानो मा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अबसर पाउने रहेछ !

आसिका तामाङ

दिनहुँ रास्वपाको बखान गरेर सामाजिक सञ्जालमा उत्ताउलो रुपमा प्रस्तु हुने ज्वाला मात्रै होइन रास्वपा स्थापना कालदेखि नै निरन्तर लाग्नु भएकी र प्रत्यक्षतर्फ निर्वाचन जित्नु भएकी तोसिमाका यी असन्तुष्टिले पनि थाहा हुन्छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकको सूचिमा मनपरी गरेको छ ।

संग्रौला र कार्की मात्रै होइन ठूला राजनीतिक दलहरुले गरेका कमजोरीलाई समेत खुलेआम आलोचना गर्ने बाँनिया र विदेशी भूमिका रहनु भएका पाण्डेले पनि रास्वपाको सूचिप्रति खुलेर विरोध गरेको देखिन्छ ।

अझ आफूलाई अभियन्ता भन्न मन पराउने आशिका र आफूलाई निकै वुद्धिजिवी हुँ भन्ने सागर ढकाल पनि पछिल्लो समय रास्वपासँग निकट देखिने पात्र हुन् । दुबैले समानुपातिक सूचिका बारेमा सामाजिक सञ्जालबाटै यसरी असन्तुष्टि पोख्नु भनेको त्यहाँ भित्र कतिसम्म बद्मासी भएको छ भन्ने कुराको एउटा उदाहरण हो ।

जेनजी प्रतिनिधि रक्षा बमले समेत आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएको र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भएको भन्दै आफ्नो सुदूर अझै पनि सुदूर नै रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेको देखिन्छ ।

निश्चि वर्गको हालीमुहाली तोड्न सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरुको उत्थान गर्न यो प्रणाली लागु गरिएको भए पनि हजारौँको बलिदानबाट प्राप्त भएको समानुपतिक प्रतिनिधितव प्रणालीलाई दलहरुले सांसद पद बिक्रि केन्द्र बनाएको गुनासो रक्षाले गरेको देखिन्छ ।

यी माथि उल्लेख गरिएका पात्रहरुका भनाई मात्रै होइन मूलधारका मिडियामा आएका केही समाचारलाई हेर्ने हो भने पनि ठूला राजनीतिक दलहरुप्रति तितो ओकलेर आफूलाई नयाँ र परिवर्तनको हुँकार दिदैँ गुलियोले कुल्ला गर्ने रवि लामिछाने, बालेन साह र कुलमान घिसिङले समानुपातिक सूचिमा ‘आफ्नै हात जगन्नाथ’ गरेको देख्दा उनिहरुको हविगत उदाङ्गो बनाउने खालको देखिन्छ ।

यो आलेखमा मुलधारका मिडियामा आएका केही शीर्षकहरु प्रस्तुत गरौँ । त्यसले नयाँ भन्नेले नै ‘आफ्नै हात जगन्नाथ’ गरेको उदाहरण बुझ् थप सहज हुन्छ ।
‘हिट गायकलाई जस्केलाबाट छिरेर माननीय बन्ने रहर, प्राइमरी इलेक्सनमा सर्वाधिक भोट ल्याएका रास्वपा नेतालाई पन्छाएर समानुपातिकमा छिरेका प्रकाश सपूत’ यो शीर्षक नेपाल प्रेसको हो ।

यो शिर्षकको समाचारमा दलिततर्फ सर्वाधिक भोट ल्याउनु भएका विजय जैरु जो पार्टी स्थापनाकालदेखि रास्वपामा जोडिएर काम गरिरहेका व्यक्ति हुनुहुन्छ । उहाँले उनले तीन वर्षदेखि सुदुरपश्चिममा रास्वपाको संगठन विस्तार गरिरहेको र रास्वपाले उम्मेदवार छनोटका लागि गरेको ‘प्राइमरी इलेक्सन’ मा १३ हजारभन्दा बढी सदस्यले जैरुलाई भोट हालेका थिए । तर, बन्दसूचीमा उहाँलाई सर्लक्क पन्छाइयो र जस्केलाबाट गायक प्रकाश सपूतको प्रवेश भयो । उहाँलाई अघि सार्नेचाँहि मेयर बालेन्द्र साह हुनुहुन्छ ।

‘कुलमानले पार्टी बैठकमा भने– भान्जा र ससुरा पर्नेको नाम राख्नु गल्ती भयो, फिर्ता लिन्छु, आदर्शको कुरा गर्ने, अनि अवसर आउँदा नातावादलाई बढावा दिएको भन्दै केन्द्रीय सदस्यहरूले गरे विरोध’ यो शिर्षक सेतोपाटीको हो ।

उक्त शिर्षकको समाचारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिनु भएका ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै पार्टीभित्रै विरोध भएपछि ती नाम फिर्ता लिने बचन दिएको उल्लेख छ । घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा कुलमानले भान्जादेखि ससुरासम्म नाता पर्नेलाई समानुपातिक सूचीमा राख्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै फिर्ता लिने बचन दिएको उल्लेख छ ।

१ सय १० मध्ये आफ्नो भागमा परेको समानुपातिक सूचीमा १४ जनामा ४ जना आफन्त र निकटस्थ राख्ने कुलमानको परिवार र आफन्त मोहले उहाँले बाहिर देखाउने आर्दश र व्यवहारमा आकाश–पातलको परक मात्रै होइन उहाँको आर्दश अवसर पाउँदा कसरी खरानी बनेर स्खलित हुन्छ भन्ने कुराको प्रमाण पनि हो । उहाँले आफ्नो भागमा परेका १४ मध्ये आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा भाञ्जा राम लामालाई राख्न भ्याउनु भएको छ ।

आदिवासी जनजातिकै क्लस्टरमा आठौं नम्बरमा नाम रहेका धर्मलाल तामाङ कुलमानका भाइको ससुरा रहेको बुझिएको छ । आफन्त मात्रै होइन कुलमानले लगौंटिया साथीलाई पनि सूचीमा अटाएपछि धेरैले कुलमानको कला देखेर आश्चर्य मान्न थालेका छन् । कुलमानले खस आर्यको क्लस्टरमा १० औं नम्बर राख्न सफल दुर्गाबहादुर सुबेदी कुलमानका लगौंटिया रहेको बुझिएको छ । कार्यालय सचिवकी पत्नीलाई पनि उहाँले सूचीमा अटाएपछि उहाँको थप आलोचना भएको छ ।

सेतोपाटीमै मनोज सत्यालले लेखेको ‘रास्वपा विवाद– आन्तरिक मतदानमा अगाडि, समानुपातिक सूचीमा नाम पछाडि’ शिर्षको समाचारमा पनि रास्वपाको प्राथमिक निर्वाचनमा खसआर्यतर्फ रञ्जु दर्शनाले १३ हजार ५ सय ५१ मत सहित समग्र खसआर्य क्लस्टरमै तेस्रो र महिलातर्फ सबभन्दा धेरै मत प्राप्त गरेको तर निर्वाचन आयोगमा रास्वपाले बुझाएको सूचीमा खसआर्य महिलातर्फ रञ्जुको नाम दसौं नम्बरमा राखिएको उल्लेख छ । दलित क्लस्टरमा सबभन्दा धेरै मत प्राप्त विजय जैरू निर्वाचन आयोगमा रास्वपाले बुझाएको ११० जनाको समानुपातिक सूचीमा नअटाएको उल्लेख छ ।

त्यसैगरी खसआर्यमा सबभन्दा धेरै १८ हजार २ सय २३ मत पाउने रमेश प्रसाईं खसआर्य सूचीमा पाँचौं नम्बरमा र प्रसाईं भन्दा झन्डै ६ हजार कम मत ल्याउने विपिनकुमार आचार्य सूचीको पहिलो नम्बरमा रहेको उल्लेख छ ।

प्राथमिक निर्वाचनमा कम मत ल्याउने सुम्निमा उदास आदिवासी जनजातितर्फ तेस्रो नम्बरमा रहेको उल्लेख छ । तर, रास्वपाले आदिवासी जनजातितर्फ धेरै मत पाउने ९ जनाको नाम सार्वजनिक गर्दा सुम्निमाको नाम सूचीमै नरहेको उल्लेख छ ।

यी केही उदाहरणले पनि उम्मेदवार छनोटका लागि गरिएको ‘प्राइमरी इलेक्सन’ रास्वपाको देखाउने दाँत मात्रै भएको प्रष्ट हुन्छ भने आफूलाई उज्यालोको नायक ठाक्ने घिसिङको परिवार र नातागोता प्रेम प्रष्ट हुन्छ ।

‘गरिबको चमेली बोल्दिने कोही छ्रैन’ भनेर र्याप गाउँने मेयर बालेनले आफ्नो भागमा परेको सूचीमा उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाललाई अटाएपछि मेयर भएपछि गरिब लखेट्ने बालेन गरिबको गीत गाएर सुकिलामुकिलाको रक्षा गर्ने पात्र भएको थप पुष्टि गरिदिन्छ । यी त बन्दसूचीमा नाम बुझाउँदा धनाढ्य, आफन्त र लगौंटियाका लागि बालेन, रवि र कुलमानले गरेको मरिहत्तेको नमूना मात्रै हो ।