मधेस प्रदेश सरकारले पायो पूर्णता, थप ६ मन्त्रीले लिए शपथ (सूचीसहित)
जनकपुरधाम, १६ पुस । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठन भएको एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । बुधबार थप ६ जना मन्त्री नियुक्त भएसँगै मुख्यमन्त्री यादवले आफ्नो टिमलाई पूर्णता दिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई आजै जनकपुरधामस्थित मधेस भवनमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
मन्त्रिपरिषद् विस्तारमा विभिन्न दल र पक्षलाई समेट्दै मन्त्रालय बाँडफाँड गरिएको छ ।
जसअनुसार:
मनिषकुमार सुमन: श्रम तथा यातायात मन्त्रालय
राजकुमार गुप्ता: भौतिक पूर्वाधार विकास मन्त्रालय
शङ्करप्रसाद चौधरी: वन तथा वातावरण मन्त्रालय
श्यामप्रसाद पटेल: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
वसन्तकुमार कुशवाहा: खेलकुद तथा समाज कल्याण मन्त्रालय
फकिरा महतो: गृह, सञ्चार तथा कानुन मन्त्रालय
गत मंसिरमा मुख्यमन्त्री नियुक्त हुनुभएका यादवले लामो समयदेखि मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको थिएन । सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडमा कुरा मिल्न ढिलाइ हुँदा सरकारले पूर्ण आकार पाउन सकेको थिएन ।
आजको विस्तारसँगै मधेस प्रदेश सरकारका सबै मन्त्रालयले नेतृत्व पाएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै प्रदेशको बजेट कार्यान्वयन र रोकिएका प्रशासनिक गतिविधिहरूले गति लिने विश्वास गरिएको छ ।