भर्चुअल सम्पत्तिको दुरुपयोगले वित्तीय जोखिम बढ्दो : राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक
काठमाडौँ, १७ पुस । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइ (एफआईयू) ले ‘भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२५’ सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा भर्चुअल सम्पत्तिको प्रयोगबाट उत्पन्न हुन सक्ने सम्पत्ति शुद्धीकरण, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी र विनाशकारी हतियार निर्माणमा हुन सक्ने लगानीको जोखिमबारे विस्तृत विश्लेषण गरिएको छ ।
एकाइले सन् २०२१ जनवरीदेखि २०२५ जुलाईसम्म ‘गो–एएमएल’ (Go-AML) प्रणालीमा दर्ता भएका शङ्कास्पद कारोबार, अन्तर्राष्ट्रिय तथ्याङ्क र रणनीतिक विश्लेषणका आधारमा यो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनले नेपालमा भर्चुअल सम्पत्ति कानुनी रूपमा निषेधित रहे पनि यसको दुरुपयोगका विधि र प्रवृत्ति बढ्दै गएको औँल्याएको छ ।
प्रतिवेदनका अनुसार भर्चुअल सम्पत्तिको प्रयोग अवैध वैदेशिक विनिमय (हुन्डी), अनलाइन वित्तीय ठगी, अनलाइन जुवा र ‘मनी–म्युल’ जस्ता आपराधिक क्रियाकलापमा हुने गरेको पाइएको छ । यस्ता गतिविधिले औपचारिक वित्तीय प्रणालीलाई छल्दै अवैध आम्दानी लुकाउन र सीमापार मूल्य स्थानान्तरण गर्न सहज बनाएको प्रतिवेदनको निष्कर्ष छ ।
अनुसन्धानका क्रममा देखिने प्राविधिक जटिलता, सीमापार अधिकार क्षेत्रको चुनौती र अवैध सम्पत्ति जफतमा हुने व्यावहारिक कठिनाइलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ । राष्ट्र बैंकले तथ्याङ्कको गुणस्तर सुदृढीकरण, जोखिममा आधारित निगरानी र अन्तर–निकाय समन्वयका लागि सम्बन्धित नियामक तथा कानुन कार्यान्वयन गर्ने निकायहरूलाई सुझाव दिएको छ । नेपालमा भर्चुअल सम्पत्तिको कुनै पनि कारोबार वा लगानी पूर्ण रूपमा गैरकानुनी रहेको कुरा प्रतिवेदनले पुनः स्मरण गराएको छ ।