२०२५ दुःखद रह्यो, २०२६ लोकतन्त्र ब्युँताउने वर्ष बन्नेछ : एमाले अध्यक्ष ओली
काठमाडौँ, १८ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ नेपालका लागि निकै दुःखद वर्ष रहेको टिप्पणी गर्नुभएका छन् ।
बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले बितेको वर्ष लोकतन्त्र र संविधानमाथि प्रहार भएको भन्दै अब सन् २०२६ लाई ‘पुनरुत्थानको वर्ष’ बनाउनुपर्नेमा जोड दिनुभएकाे हाे ।
अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति तीव्र असन्तुष्टि पोख्दै लोकतन्त्र विस्थापन गर्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयाे । “जननिर्वाचित सरकार ढल्नु भनेको केवल सत्ता परिवर्तन मात्र होइन, यो त संविधान ढल्नु र जनताको सार्वभौमसत्ता थिचिनु हो,” उहाँले भन्नुभयाे ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले न्यायलय र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सर्वोच्चले थुनामा राखेर कारबाही गर्न आदेश दिएका व्यक्तिहरूलाई जिल्ला र उच्च अदालतबाट छोडिएको भन्दै उहाँले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे, “विभिन्न तत्व जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदैछ, अपराधीहरूलाई छोड्नेबित्तिकै सडकमा तमासा देखिन थालेको छ ।”
आगामी निर्वाचनको निष्पक्षतामाथि शङ्का गर्दै अध्यक्ष ओलीले सरकारले अझैसम्म चुनावी वातावरण बनाउन नसकेको आरोप लगाउनुभयाे । नेताहरूमाथि झूठा मुद्दा लगाउने, जेल तोड्नेहरूलाई अगाडि बढाउने र बुथ कब्जा गर्ने योजना बुनिएकाले निर्वाचन स्वच्छ हुनेमा उहाँले सन्देह व्यक्त गर्नुभयाे ।
मुलुकको विद्यमान राजनीतिक संकट समाधानका लागि अध्यक्ष ओलीले पुनः ‘विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना’ लाई नै अचुक औषधि भएकाे बताउनुभएकाे । विगतमा यस्ता मुद्दामा सर्वोच्चले छिटो फैसला दिने गरेको स्मरण गर्दै उहाँले अहिलेको निकास पनि त्यहीँबाट खोजिनुपर्ने तर्क गर्नुभयाे ।