सेयर बजारमा उत्साह: नेप्से २९ अंकले बढ्दा साढे ६ अर्बको कारोबार
काठमाडौँ, २१ पुस । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.७३ अंकले बढेर २६३९ विन्दुमा पुगेको छ ।
बजार खुलेदेखि नै सकारात्मक देखिएको नेप्सेमा आज कारोबार रकमले पनि नयाँ उचाइ लिएको छ । आइतबार ५ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ । मुलुकमा प्रतिनिधिसभा निर्वाचनको वातावरण बन्दै गएपछि लगानीकर्ताको आत्मविश्वास बढ्दा बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।
आज बजारका सबै उपसमूहका सूचकहरू हरियाली देखिएका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी ३.०५ प्रतिशतको वृद्धि देखिएको छ । यस्तै, विकास बैंक २.७०, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४ र लगानी समूह १.२३ प्रतिशतले बढेका छन् । बैंकिङ, फाइनान्स, बीमा, र माइक्रोफाइनान्स लगायतका अन्य समूहमा पनि सुधार आएको छ ।
आजको कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर रहेका छन् । यस्तै, दरामखोला हाइड्रोपावर, हिमस्टार ऊर्जा र नारायणी डेभलपमेन्ट बैंकको मूल्य पनि ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
यता, सप्तकोशी विकास बैंकको २.४९ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मूल्य २.२३ प्रतिशतले घटेको छ ।
आज कुल २१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो । यस्तै बन्दीपुर केबुलकार, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र सागर डिस्टिलरी पनि धेरै कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन् ।