एमाले अध्यक्ष ओलीमाथि लगाइएको ‘स्थान हद’ फुकुवा

काठमाडौँ, २१ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भ्रमण प्रतिबन्ध र स्थान हद फुकुवा भएको छ । गत भदौ २३ र २४ गतेको घटना (जेनजी आन्दोलन) सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक र काठमाडौँ उपत्यका बाहिर जान अनुमति लिनुपर्ने व्यवस्था हटाउने निर्णय गरेको हो ।

आयोगको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार उक्त घटनाको छानबिनका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग गर्नुपर्ने सोधपुछ र बयानको कार्य सम्पन्न भइसकेकाले उहाँमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिएको हो ।

भदौ २३ र २४ गते भएका घटनाहरूको अनुसन्धानका लागि आयोगले असोज १२ गतेको बैठकबाट ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबिना उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । “ओलीसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले अब उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएको छ,” आयोगको निर्णयमा भनिएको छ ।

आयोगको टोलीले आइतबार मात्र भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेर उहाँको बयान लिएको थियो । त्यस क्रममा अध्यक्ष ओलीले आयोगलाई लिखित वक्तव्यसमेत बुझाउनुभएको थियो ।

आयोगले यसअघि नै तत्कालीन गृहमन्त्री रमेश लेखक, चारवटै सुरक्षा निकायका प्रमुखहरू र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूसँग बयान लिइसकेको छ । प्रवक्ता शर्माका अनुसार आन्दोलनमा प्रत्यक्ष सरोकार राख्ने र अन्य सम्बन्धित व्यक्तिहरूसँगको सोधपुछ पनि लगभग सकिएको छ ।

तीन महिनाको समयसीमा सकिएपछि आयोगको म्याद हालै एक महिनाका लागि थप गरिएको छ । आयोगले अहिले प्रतिवेदन लेखन र छानबिनका बाँकी कामलाई तीव्रता दिएको जनाएको छ ।