म्याग्दीमा सडक निर्माणमा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले भत्काए ढलान
म्याग्दी, २२ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ झिनडाँडामा निर्माणाधीन सडकमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएपछि जनप्रतिनिधिले ढलान भत्काइदिएका छन् ।
दरवाङ–मुना–ढोरपाटन सडक खण्डअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा ‘पिसिसी’ ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग गरिएको पाइएको थियो । स्थानीयवासीले गुणस्तरमा शङ्का गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरसहितको टोलीले सोमबार स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा निर्माण कम्पनी ‘रामसागर बिके एस केबीएस धवलागिरि जेभी’ ले कङ्क्रिटको मिश्रणमा सडक ग्राभेल गर्न राखिएको ‘बेस’ हालेको फेला परेको थियो । प्राविधिक टोलीसहित पुग्नुभएका जनप्रतिनिधिले उक्त गुणस्तरहीन ढलान तत्कालै भत्काएर मापदण्डअनुसार पुनर्निर्माण गर्न लगाउनुभएको छ ।
प्रदेशसभा सदस्य जुग्जालीका अनुसार निर्माण कम्पनीका कर्मचारीले आफ्नो कमजोरी स्वीकार गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । १४ करोड ६१ लाख रुपैयाँ लागतको यस रणनीतिक सडक योजनामा हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ । जनप्रतिनिधिहरूले पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्माण कार्यको नियमित निगरानी र अनुगमनमा कडाइ गर्न समेत निर्देशन दिएका छन् ।
यो सडक बागलुङको ढोरपाटन र पूर्वी रुकुमसम्म जोड्ने छोटो मार्ग हो । प्रदेश सरकारको रु. १४ करोड ६१ लाख लगानीमा भइरहेको यो कामलाई तोकिएकै समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्न जनप्रतिनिधिले चेतावनी दिएका छन् ।