परालको टौवामा उम्रेको च्याउ खाँदा गोरखामा एकाघरका चार जना बिरामी
गोरखा, २२ पुस । गोरखा नगरपालिका–१४ प्युघरमा परालको टौवा (थुप्रो) मा उम्रेको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । सोमबार साँझ जङ्गली च्याउको तरकारी खाएलगत्तै उनीहरू बिरामी परेका हुन् ।
बिरामी पर्नेमा मकवानपुरको बागमती नगरपालिका–१३ घर भई हाल प्युघरमा डेरा गरी बस्ने ३० वर्षीया हीरा पहरी र उनका तीन सन्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकका अनुसार बिरामी हुनेमा हीरासहित उनका १२ वर्षीय छोरा किसान, ६ वर्षीय छोरा हिमाल र ५ वर्षीया छोरी सुजिता रहेका छन् ।
घर नजिकैको परालको थुप्रोमा उम्रेको च्याउ टिपेर तरकारी बनाई खाएपछि उनीहरूमा पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएलगत्तै उनीहरूलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याइएको थियो ।
हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अस्पतालका अनुसार बिरामीहरू अहिले बोल्न सक्ने अवस्थामा छन् । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
वर्षा र ओसका कारण जथाभाबी उम्रिने च्याउ विषालु हुन सक्ने भन्दै पहिचान नगरी नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
