‘निर्वाचनबाट एमाले कहिल्यै भाग्दैन, निष्पक्ष वातावरण सुनिश्चित गरियोस्’ – अध्यक्ष ओली

काठमाडौँ, पुस २६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनका लागि सधैँ तयार रहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट पार्दै सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले पार्टीले समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेको जानकारी दिँदै सिङ्गो पार्टी पङ्क्तिलाई उच्च मनोबलका साथ तयारीमा जुट्न निर्देशन दिनुभयो । धेरै योग्य आकांक्षीहरू हुँदाहुँदै पनि सीमित सिट र समावेशी क्लस्टरका कारण सबैलाई समेट्न कठिन भएको उहाँको भनाइ थियो । उहाँले पार्टीको निर्णयपछि सबै नेता–कार्यकर्ता एकताबद्ध भएर निर्वाचन अभियानमा होमिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।