ललितपुरमा ८३ वर्षीय वृद्धको विभत्स हत्या घटना : सुनको औँठी लुट्न हत्या गरी इनारमा फालियो, तीन भारतीय नागरिक पक्राउ
काठमाडौँ, २८ पुस । ललितपुरको बाफलमा एक ८३ वर्षीय वृद्धको विभत्स हत्या भएको छ । सुनको औँठी लुट्ने उद्देश्यले वृद्धको हत्या गरी शवलाई बोरामा बाँधेर इनारभित्र फालेको अवस्थामा फेला पारिएको हो ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार सोमबार ललितपुर महानगरपालिका–१७ बाफलस्थित एक खाली जग्गामा रहेको इनारभित्र शव फेला परेको हो । मृतक इलाम घर भई हाल बाफलस्थित प्रसिद्धिनगर बस्ने ८३ वर्षीय गर्जमान थापा हुन् ।
गर्जमान थापा गत पुस २६ गते बिहान ११ बजे घरबाट निस्किएका थिए । बेलुकी अबेरसम्म पनि उनी घर नफर्किएपछि चिन्तित परिवारले सोही दिन साँझ ७ बजे प्रहरी वृत्त सातदोबाटोमा हराएको निवेदन दिएका थिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा शङ्का लागेर बाफलको खाली जग्गामा रहेको इनारमा खानतलासी गर्दा एउटा बोरा भेटिएको थियो । सोही बोराभित्र हात–खुट्टा बाँधिएको र घाँटीमा गम्भीर चोट लागेको अवस्थामा थापाको शव फेला परेको एसपी जोशीले जानकारी दिनुभयो ।
प्रहरीले घटनाको केही घण्टाभित्रै हत्यामा संलग्न तीन जनालाई नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरू सद्दाम मन्सुरी, युसुफ हवारी र मोहम्मद लोमान रहेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सुनको औँठी लुट्नकै लागि वृद्धको हत्या गरेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरू सोही क्षेत्रमा फर्निचरको काम गर्दै आएका थिए ।
“वृद्ध गर्जमान सो क्षेत्रमा आइरहने हुनाले उनीसँग सुनको औँठी छ भन्ने उनीहरूलाई थाहा रहेछ,” एसपी जोशीले भन्नुभयो, “त्यही औँठी लुट्ने योजना बनाएर उनीहरूले हत्या गरेको देखिन्छ । हामीले लुटिएको औँठी समेत बरामद गरिसकेका छौँ ।”
अहिले पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।