भक्तपुरमा ३५० वर्ष पुरानो ‘सम्यक दान पर्व’ मनाइँदै : २ हजार भिक्षुलाई महादान गरिँदै, यस्तो छ तयारी

भक्तपुर, २९ पुस । बौद्ध धर्मावलम्बीहरूले साढे तीन शताब्दीदेखि मनाउँदै आएको ऐतिहासिक एवं सांस्कृतिक ‘सम्यक दान पर्व’ यस वर्ष पनि भव्य रूपमा मनाइँदैछ ।

प्रत्येक वर्ष माघ १ गतेका दिन आयोजना हुने यस महादान पर्वमा यस वर्ष दुई हजार भिक्षुहरूलाई महादान गर्ने तयारी गरिएको छ ।

सम्यक महादान व्यवस्थापन सहयोग समितिले बुधबार पत्रकार सम्मेलन गरी भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसरमा हुने कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

समितिका अनुसार यो पर्व नेपाल संवत् ७८७ (करिब ३५० वर्षअघि) देखि निरन्तर चल्दै आएको छ । प्रसिद्ध चतुब्र्रम्ह महाविहारका सङ्घ सदस्य जयरत्न बज्राचार्यले आफ्ना दिवङ्गत पिता जयदेव बज्राचार्यको स्मृतिमा यो पर्वको सुरुवात गरेका थिए । विसं १७९४ मा तत्कालीन राजा जय जितामित्र मल्लको उपस्थितिमा यसलाई भव्य रूपमा मनाइएको ऐतिहासिक प्रमाण शिलापत्रहरूमा उल्लेख छ ।

यस पर्वमा पाँच वटा दीपङ्कर बुद्धका मूर्तिहरूलाई स्थानीय थथुबहीमा विराजमान गराइन्छ । बुद्ध ज्ञान प्राप्त गरेका शाक्य र बज्राचार्य भिक्षुहरूलाई बौद्ध परम्पराअनुसार चामल, दक्षिणा र विभिन्न परिकारहरू दान दिने प्रचलन छ ।

समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार दानको सुरुवात सबैभन्दा पहिले चतुब्र्रम्ह महाविहार सङ्घका कूलदेवता ‘हेबज नैरात्मा’ लाई भोजन गराएर गरिन्छ । त्यसपछि लहरै मूल दीपङ्कर, बाहाछे दीपङ्कर, भौरबही, ययुबही र कुथुबही दीपङ्करहरूलाई भोजन चढाएपछि सयौँ भिक्षुहरूलाई लामबद्ध राखेर दान दिइनेछ ।

सम्यक दानमा चढाउने सामग्रीहरू निकै विशिष्ट र परम्परागत हुन्छन् । यस वर्ष दानका लागि विशेष प्रकारको पुरी, लड्डु, पञ्चपक्वान, चतामरी लगायतका मिठाइहरू बनाउने काम भइरहेको छ । गेँडागुडीका परिकारहरू (गोमाय, बालामाय, कसु आदि) र विभिन्न थरीका सागसब्जीहरू चढाउने तयारी भइरहेको छ ।

यस वर्ष सम्यक दान पर्व मनाउने मुख्य पालो चिनियाकाजी बज्राचार्य परिवारको रहेको छ । सो परिवार र समितिको टोली विगत एक सातादेखि जयकीर्ति महाविहारमै बसेर व्यवस्थापनमा खटिएको छ । यस वर्ष अघिल्लो वर्षहरूको तुलनामा दान लिने र अवलोकन गर्नेहरूको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

यो पर्वले नेपालको प्राचीन बौद्ध सभ्यता, वास्तुकला र दान संस्कृतिको वैभवलाई उजागर गर्ने विश्वास गरिएको छ ।