सेयर बजारमा उत्साह: नेप्से ३१ अंकले बढ्दा कारोबार रकम ८ अर्ब ४० करोड नाघ्यो
काठमाडौँ, ४ माघ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ ।
अघिल्लो कारोबार दिन सामान्य अङ्कले बढेको बजारमा आज १.१७ प्रतिशतको वृद्धि देखिएको हो ।
नेप्से परिसूचक आज ३१.१२ अङ्कले बढेर २६७२.५५ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से सँगसँगै सेन्सेटिभ इण्डेक्स ४.७० अङ्क, फ्लोट इण्डेक्स २.४१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अङ्कले उकालो लागेका छन् ।
बजारको वृद्धिलाई कारोबार रकमले पनि बलियो साथ दिएको छ । गत बुधबार ६ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार कित्ता सेयर ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । आज कुल ९५ हजार ४४५ पटक कारोबार भएको थियो ।
आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशत वृद्धि) लागेको छ । सकारात्मक सर्किट लाग्नेहरूमा सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्स रहेका छन् ।
यस्तै, सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्तको मूल्य करिब ९ प्रतिशतले बढ्दा बन्दीपुर केबलकारको मूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ । यता, थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य भने सर्वाधिक ८.७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज मञ्जुश्री फाइनान्स अग्रस्थानमा रह्यो । यस कम्पनीको ५३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यस्तै, एसवाई प्यानल नेपालको ३७ करोड र श्रीनगर एग्रीटेकको २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेर बजार हरियाली बनेको छ । जसमध्ये वित्त (फाइनान्स) उपसमूह सर्वाधिक ५.७३ प्रतिशतले बढेको छ ।