गाउँ-गाउँमा विकासको आधार एमालेले नै तयार पारेको हो : अध्यक्ष ओली, सामाजिक सञ्जालको भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

गौरादह (झापा), ८ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ग्रामीण क्षेत्रको विकास र समृद्धिमा एमालेले निर्णायक भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ । झापाको गौरादहमा आयोजित अगुवा नेता-कार्यकर्ता तथा मतदातासँगको अन्तरक्रियामा उहाँले गाउँ-गाउँमा विकासको जग बसाल्ने काम एमालेकै नेतृत्वमा सम्भव भएको बताउनुभएको हो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गौरादहस्थित पाहुनाघरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेका एजेन्डा र वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राख्नुभएको थियो ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा सडक, पुल, विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा अभूतपूर्व काम भएको उल्लेख गर्नुभयो । “गाउँ-गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो,” उहाँले भन्नुभयो, “आज देशभर देखिएका ठूला पूर्वाधार र विकासका लहरहरू एमालेकै भिजन र कामका परिणाम हुन् ।”

अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा फैलिने भ्रम र अफवाहका पछि नलाग्न र त्यसलाई तथ्यका आधारमा चिर्न निर्देशन दिनुभयो । “सामाजिक सञ्जालमा जे देखियो, त्यही सत्य ठान्ने प्रवृत्ति खतरनाक छ,” उहाँले भन्नुभयो, “विपक्षले फैलाउने गलत न्यारेटिभ र मनस्थिति बनाउने प्रयासलाई तथ्य र यथार्थका आधारमा जनतालाई बुझाउने जिम्मेवारी तपाईँहरूको काँधमा छ ।”

आगामी निर्वाचनलाई सामान्य सत्ता परिवर्तनको रूपमा मात्र नलिन आग्रह गर्दै ओलीले यो निर्वाचन राष्ट्रियता र मुलुकको स्वाधीनतासँग जोडिएको बताउनुभयो । बाह्य शक्तिको प्रभाव र अस्थिरताको राजनीतिबाट देशलाई जोगाउन एमालेलाई विजयी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको स्वाधीनता, स्थायित्व र विकासको पक्षमा उभिने एक मात्र शक्ति एमाले हो, यसलाई बुझेर मतदान गर्न जरुरी छ ।”

गौरादह र गौरीगञ्ज क्षेत्रका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको सो कार्यक्रममा स्थानीय विकासका आवश्यकता र निर्वाचन रणनीतिका बारेमा समेत छलफल भएको थियो । अध्यक्ष ओलीले संगठनलाई वडा र टोल तहसम्म सुदृढ बनाउँदै जनताको विश्वास जित्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।