प्रतिनिधिसभा निर्वाचनः मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मात्र मतदान हुने

मनाङ, १२ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन वटा निर्वाचन चिह्नमा मात्र मतदान हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेपाली कांग्रेसको रुख, नेपाल कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिह्नमा मतदान हुने भएको हो ।

सुरुमा पाँच दलबाट उम्मेदवारी परेकामा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिह्न मात्र कायम भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा सात हजार मतदाता रहेका छन्, जुन देशकै सबैभन्दा कम मतदाता सङ्ख्या हो । निर्वाचनका लागि जिल्लामा एक अस्थायीसहित २९ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गर्न जिल्लाभर एक सय ७१ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *