झापा–५ मा एमाले र ओलीको पक्षमा धिमाल समुदायको ‘किल्ला’: पहिचान र सुरक्षाका लागि एकढिक्का

दमक, १९ माघ प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा झापा क्षेत्र नं. ५ को चुनावी माहोल रोचक बनेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा यहाँको निर्णायक शक्ति मानिने आदिवासी धिमाल समुदाय यसपटक पनि संगठित रूपमै एमालेको पक्षमा उभिएको छ।

विगतदेखि नै एमालेको सशक्त उपस्थिति रहेको यस क्षेत्रमा धिमाल समुदायले आफ्नो जातीय पहिचान, राजनीतिक भविष्य र सामाजिक सुरक्षाका लागि ओलीकै नेतृत्वलाई निर्विकल्प आधार मानेको छ।

धिमाल जातीय विकास केन्द्रका राष्ट्रिय सभा सचिव मणिराज धिमालका अनुसार, अन्य राजनीतिक शक्तिहरूको तुलनामा एमालेले धिमाल समुदायलाई राजनीतिक, शैक्षिक र सामाजिक रूपमा मूलधारमा ल्याउन ऐतिहासिक भूमिका खेलेको छ।

“धिमाल समुदायको संस्थागत विकास, पहिचानको संरक्षण र नीति निर्माण तहमा हाम्रो प्रतिनिधित्व सुनिश्चित गर्न एमालेले प्रारम्भिक चरणदेखि नै अग्रसरता देखाएको छ,” सचिव धिमाल भन्नुहुन्छ, “त्यसैले अहिले यो समुदाय अन्यत्र लाग्ने कुरै छैन, हामी एकढिक्का छौँ।”

१५० वर्षभन्दा पहिले नै पूर्वी नेपालको झापा र मोरङका जङ्गल फाँडेर बस्ती बसाल्ने धिमाल समुदायलाई एमाले नेतृत्वकै स्थानीय सरकारले ‘प्रथम नागरिक’ घोषणा गरेको थियो। दमक नगरपालिकाबाट सुरु भएको यो सम्मानलाई अहिले अन्य स्थानीय तहले पनि अनुशरण गरेका छन्।

यस घोषणाले धिमाल समुदायको आत्मसम्मानमा ठूलो बल पुगेको अगुवाहरू बताउँछन्। तर, गत भदौमा ‘जेनजी’ (Gen Z) को नाममा भएको आन्दोलनका क्रममा दमक नगरपालिका परिसरमा रहेको धिमाल स्मारक तोडफोड भएपछि भने समुदाय सशंकित बनेको छ। उक्त घटनाले पुर्‍याएको चोटका कारण पनि आफ्नो अधिकार र सांस्कृतिक धरोहरको रक्षाका लागि एमाले र ओलीकै बलियो नेतृत्व चाहिने निष्कर्षमा समुदाय पुगेको देखिन्छ।

यो निर्वाचन केवल सत्ता परिवर्तनको विषय मात्र नभई आफ्नो भविष्य सुरक्षित गर्ने राजनीतिक आधार पनि भएको नयाँ पुस्ताको बुझाइ छ। दमक–४ की सलिना धिमाल भन्नुहुन्छ, “नेतृत्व विकास र राजनीतिक चेतना विस्तारमा एमालेले हामीलाई जुन अवसर दियो, त्यो अरुले दिन सकेका छैनन्। त्यसैले हामी युवाहरू पनि एमालेप्रति नै दृढ छौँ।”

धिमाल जातीय विकास केन्द्रका पूर्वअध्यक्ष रामबहादुर धिमालका अनुसार एमाले र धिमाल समुदायबीचको सम्बन्ध ‘अविभाज्य’ छ। झापा र मोरङका हरेक धिमाल बस्तीमा एमालेको जनमत वर्षौंदेखि बलियो हुनुको मुख्य कारण यही हो।”

दमक नगरपालिकाका पूर्वउपप्रमुख लोकबहादुर धिमाल पनि यस क्षेत्रमा अध्यक्ष ओली र एमालेप्रति समुदायको राजनीतिक भरोसा अटुट रहेको बताउनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *