निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन सक्छ, एमाले पहिलो पार्टी बन्छ : उपाध्यक्ष गुरुङ

काठमाडौँ, २० माघ । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा केही स्थानमा राजनीतिक दलहरूबीच चुनावी तालमेल हुन सक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले मंगलबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले आम रूपमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिए पनि स्थानीय आवश्यकताका आधारमा तालमेलको सम्भावना रहेको औंल्याउनुभयो ।

उपाध्यक्ष गुरुङले देश बनाउने स्पष्ट नीति र विचार भएका कारण एमाले आगामी निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी समेत गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तालमेलबारे छलफल भएको भन्ने चर्चाबारे पत्रकारको प्रश्नमा गुरुङले अहिलेसम्म पार्टीले तालमेलबारे कुनै ठोस निर्णय नगरेको प्रष्ट पार्नुभयो ।

“बाहिर चर्चामा आए जस्तो तालमेलको आधिकारिक निर्णय भएको छैन, तर राजनीतिमा छलफल, संवाद र सम्भावना सधैँ खुला हुन्छ,” उहाँले भन्नुभयो । यद्यपि, उहाँले गत भदौ २३ र २४ गतेका घटनाक्रमलाई हेर्ने दृष्टिकोणमा एकरूपता नभएसम्म नेकपासँग तत्काल तालमेल हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।