विमानस्थलबाट मलद्वारमा राखेर सुन तस्करी गर्ने दुई जना पक्राउ
काठमाडौँ, २१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सुन तस्करीका दुई छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ । एक जनाले आफ्नै मलद्वारमा र अर्काले फोहर फाल्ने डस्टबिनमा सुन लुकाएर तस्करी गर्न खोजेका थिए ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिक र एक नेपाली सरसफाइ कर्मचारी रहेका छन् ।
फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका भारतीय नागरिक अबु बरकतलाई प्रहरीले शङ्का लागेर चेकजाँच गरेको थियो । एक्स-रे गर्दा उनको शरीरभित्र धातु रहेको देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सोधपुछ र अस्पतालमा शौच गराउँदा उनको मलद्वारबाट १०० ग्राम अर्धठोस सुन बरामद गरिएको एसपी सिलवालले जानकारी दिनुभयो ।
त्यसैगरी, विमानस्थलमा सुरक्षा छलेर सुन बाहिर निकाल्न खोज्ने ‘सुनगाभा सगरमाथा सर्भिस प्रालि’का सरसफाइ कर्मचारी डिकबहादुर राउत पनि पक्राउ परेका छन् । उनले विमानस्थलभित्र राखिएको डस्टबिनमा फोहरसँगै सुन लुकाएर बाहिर लैजाने योजना बनाएका थिए ।
प्रहरीले फोहर निकाल्ने क्रममा खानतलासी गर्दा ४.४ ग्रामका सुनका सिक्रीका टुक्राहरू फेला पारेको हो । राउतले विमानस्थलको संवेदनशील क्षेत्रबाट सुन तस्करी गर्न सहयोग पुर्याएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
पक्राउ परेका भारतीय नागरिक बरकत र नेपाली नागरिक राउत दुवैलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि आजै विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।