निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न धनुषाका प्रजिअको निर्देशन
काठमाडौँ, माघ २४ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई निर्देशन दिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनुषाद्वारा आज जनकपुरधाममा आयोजित ‘निर्वाचन आचारसंहिता अनुगमन समिति’को बैठकलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो। प्रजिअ लुइँटेलले आचारसंहिताको उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिनुभयो।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, कार्यालय प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको उक्त बैठकमा उहाँले निर्वाचनका लागि जिल्लामा शान्तिपूर्ण वातावरण निर्माण भइसकेको बताउनुभयो। निर्वाचनलाई संयमित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको जानकारी दिँदै उहाँले सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार, कुनै पनि मतदान केन्द्रमा थप सुरक्षा आवश्यक परेको खण्डमा ५ देखि ७ मिनेटभित्रै सुरक्षा निकाय पुग्ने गरी विशेष व्यवस्था मिलाइएको छ।
सोही अवसरमा मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले सुशासन र निष्पक्षता कायम राख्नका लागि सबै पक्षलाई आचारसंहिताको पालना गर्न आग्रह गर्दै विशेषगरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण र गलत सूचना प्रवाह नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई सचेत गराउनुभयो। पुरीले आचारसंहिताको नियमित अनुगमन भइरहेको र दोषी देखिएमा तत्काल कानुनी प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभयो।
धनुषामा प्रतिनिधिसभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचनका लागि जिल्लाभर ३२२ मतदानस्थल र ६४५ मतदान केन्द्र तोकिएका छन्। सुरक्षा संवेदनशीलताका आधारमा १९४ मतदानस्थललाई ‘अतिसंवेदनशील’ सूचीमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ।