आगामी निर्वाचनमा ड्रोन उडाउन प्रतिबन्ध : सामाजिक सञ्जालमा भ्रम फैलाए कडा कारबाही हुने
काठमाडौँ, २४ माघ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप कडा बनाउँदै निर्वाचन अवधिभर ड्रोन (मानवरहित विमान) को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्न सक्ने आकलन गर्दै ड्रोनको व्यावसायिक तथा निजी उडानमा रोक लगाइएको जानकारी दिनुभयो ।
प्रवक्ता काफ्लेका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचनलाई प्रभावित पार्ने गतिविधि बढिरहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीको अत्याधुनिक प्राविधिक युनिटलाई सक्रिय पारिएको छ । “निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या सूचना, भ्रमपूर्ण प्रचार र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको कडा निगरानी भइरहेको छ,” उहाँले भन्नुभयो ।
मन्त्रालयले निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को बीमा गर्ने प्रक्रिया अघि बढाएको छ । साथै, देशका विभिन्न भागमा रहेका सञ्चार सम्पर्क नहुने (आउट अफ पहुँच) मतदान स्थलहरूको पहिचान गरी त्यहाँ सञ्चारको वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले ‘एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२’ बमोजिम सुरक्षा निकायहरूलाई स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न निर्देशन दिनुभएको छ । मन्त्री अर्यालले जनशक्ति परिचालन र बन्दोबस्तीको व्यवस्थापनमा कुनै कमी हुन नदिन र निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयले आम नागरिकलाई सामाजिक सञ्जालमा कुनै पनि भ्रामक वा कसैलाई लाञ्छना लगाउने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । यदि यस्ता गतिविधिमा संलग्न भएको पाइएमा विद्युतीय कारोबार ऐन र निर्वाचन ऐन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।