रहेनन् ‘राते काइँला’ : वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन, मुम्बईबाट आउँदै परिवार
काठमाडौँ, २४ माघ । नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको आज (बिहीबार) ६८ वर्षको उमेरमा निधन भएको छ ।
आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरे ।
चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता थापाको हृदयघातका कारण निधन भएको हो ।
थापा आज बिहानै एक चलचित्रको छायाङ्कन (सुटिङ) का लागि जाने तयारीमा हुनुहुन्थ्यो । उहाँले शङ्खमूलस्थित आफ्नै अपार्टमेन्टमा आफूसँगै रहेका सहयोगीलाई बिहान चाँडै उठाउन भन्नुभएको थियो । तर, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापा ओछ्यानमै अचेत अवस्थामा भेटिएका थिए । तत्काल अस्पताल पुर्याइए पनि अस्पतालले प्रारम्भिक जाँचपछि उहाँको मृत्यु भइसकेको जानकारी दिएको थियो ।
स्वर्गीय थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको परिवारका सदस्यहरू हाल भारतको मुम्बईमा बसोबास गर्दै आएका छन् । “परिवारका सदस्यहरूलाई खबर भइसकेको छ, उहाँहरू नेपाल आउँदै हुनुहुन्छ,” सङ्घका अध्यक्ष निरौलाले भन्नुभयो ।
लामो समयदेखि नेपाली र भारतीय (बलिउड) चलचित्रमा सक्रिय रहनुभएका थापाको निधनले नेपाली कला जगत् अपूरणीय क्षति व्यहोरेको छ । विशेष गरी ‘राते काइँला’ को नामले जनमानसमा अमिट छाप छोड्न सफल थापाले खलनायकको भूमिकालाई समेत नायक सरहको चर्चा र सम्मान दिलाउनु भएको थियो ।
नेपाली चलचित्र ‘चिनो’ बाट उहाँले पाएको ‘राते काइँला’ को पहिचान नेपाली सिनेमाको इतिहासमै एक कालजयी चरित्र मानिन्छ । उहाँको निधनमा कलाकार, निर्देशक र चलचित्र प्रेमीहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।