‘गुगल नेटवर्कका पार्टी गुगलमै सीमित हुन्छन्, एमाले भूगोलमा छ’ : महेश बस्नेत
भक्तपुर, २५ माघ । नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले आगामी निर्वाचनमा ‘पपुलिष्ट’ योजनाहरू परास्त हुने दाबी गर्नुभएको छ।
एमालेको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले एमाले एक ढिक्का भएर निर्वाचनमा होमिएको बताउनुभयो।
सम्बोधनका क्रममा सचिव बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहतर्फ लक्षित गर्दै भन्नुभयो, “गुगल नेटवर्कबाट आएका पार्टीहरू गुगलमै सीमित हुन्छन्, नेकपा एमाले भूगोलमा आधारित पार्टी हो। यो निर्वाचनमार्फत पपुलिष्ट एजेन्डाहरू स्वतः किनारा लाग्नेछन्।” उहाँले केही समय बरालिएका युवाहरू पुनः एमालेमै फर्किने विश्वास समेत व्यक्त गर्नुभयो।
संविधानको रक्षा र देशको विकासका लागि एमालेको जित अनिवार्य रहेको उल्लेख गर्दै बस्नेतले भन्नुभयो, “हामीले यस वर्ष नसोचेको मत ल्याएर विजय हासिल गर्नेछौँ। राष्ट्र बचाउन र शान्ति कायम गर्न युवाहरूले दायाँबायाँ नगरी सूर्य चिह्नमा मतदान गर्नुपर्छ।”
उहाँले एमालेले ‘मिसन २०८४’ को तयारी गरिरहेको भए पनि असंवैधानिक तरिकाले संसद् विघटन गरिएका कारण २०८२ सालमै निर्वाचनमा जानुपरेको तर्क गर्नुभयो। एमालेलाई संसद् विहीन बनाउने षडयन्त्र असफल भएको उहाँको भनाइ थियो।
गत भदौ २३ र २४ गते भएका घटनाहरू जनचाहना अनुसारको आन्दोलन नभएको दाबी गर्दै बस्नेतले ती घटना नियोजित र हिंसात्मक भएको बताउनुभयो। “सुरुमा विद्यार्थीले परिवर्तनका लागि प्रदर्शन गरे पनि पछि त्यसलाई ‘हाइज्याक’ गरी हिंसात्मक बनाइयो,” उहाँले भन्नुभयो, “यो अन्तर्राष्ट्रिय डिजाइन अन्तर्गत गरिएको सुनियोजित आक्रमण थियो। आक्रमणकारीले सामान लुट्ने र लैजान नसक्ने सामानमा घातक रसायन प्रयोग गरेर जलाउने काम गरेका छन्।”
कार्यक्रममा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।