महाशिवरात्रिका लागि पशुपतिनाथमा रङरोगन र पूर्वाधार सुधार तीव्र, साधु-सन्तको आगमन सुरु
काठमाडौँ, २६ माघ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका कार्यहरू द्रुत गतिमा अघि बढाइएको छ। पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज र सुरक्षित दर्शनको व्यवस्था मिलाउन तयारी तीव्र पारेको हो।
महाशिवरात्रिको व्यवस्थापनका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमितिहरू गठन गरी काम सुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारलगायतका क्षेत्रमा समिति पूर्ण रूपमा सक्रिय छ।
“महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको भीड व्यवस्थापन, सुरक्षा र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको छ,” प्रवक्ता जोशीले भन्नुभयो, “सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको छ।”
१७१ सदस्यीय मूल समारोह समिति गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय ‘महाशिवरात्रि २०८२ मूल समारोह समिति’ गठन गरिएको छ। यस समितिले पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।
पर्व नजिकिएसँगै पशुपति क्षेत्रमा साधु-सन्तहरूको आगमन बाक्लिएको छ। नेपालका विभिन्न भू–भागका साथै छिमेकी मुलुक भारतबाट ठूलो सङ्ख्यामा साधुहरू पशुपति क्षेत्रमा आइपुगेका छन्। विभिन्न अखडा तथा सम्प्रदायका साधुहरूले पशुपति परिसरमा आ–आफ्नो धुनी स्थापना गरी ध्यान र तपस्या सुरु गरिसकेका छन्।
यस वर्षको महाशिवरात्रि पर्व आगामी फागुन ३ गते परेको छ। पर्वको तिथि नजिकिएसँगै पशुपति क्षेत्रमा धार्मिक चहलपहल र भक्तजनको आवागमन उल्लेख्य रूपमा बढ्न थालेको कोषले जनाएको छ। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व भएकाले यस पटक पनि स्वदेशी तथा विदेशी श्रद्धालुहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ।