महाशिवरात्रि विशेष : पशुपति क्षेत्रमा बाग्मतीको बहाव बढाउन धाप ड्याम र मेलम्चीको पानी छाडियो

काठमाडौँ, १ फागुन । आसन्न महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर परिसर भएर बग्ने बाग्मती नदीलाई स्वच्छ बनाउन र बहाव बढाउन धाप ड्याम र मेलम्ची खानेपानी आयोजनाको पानी छाडिएको छ। पशुपति क्षेत्रमा स्नान गर्ने भक्तजनको सुविधा र नदीको सौन्दर्य अभिवृद्धिका लागि आजदेखि नै पानी छाड्न थालिएको हो।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार सुन्दरीजलस्थित धाप ड्यामबाट क्रमिक रूपमा पानी छोडिएको छ। आयोजनाका उपनिर्देशक एवं सूचना अधिकृत उद्धव नेपालका अनुसार ड्यामको पानी पशुपति क्षेत्रसम्म आइपुग्न करिब १४ घण्टा लाग्ने भएकाले आजैदेखि निकास सुरु गरिएको हो।

नदीमा प्रतिसेकेन्ड ४०० लिटरका दरले पानी प्रवाह गरिनेछ। “यसरी पानी छाड्दा बाग्मतीमा पानीको सतह घुँडासम्म आउनेछ, जसले गर्दा दर्शनार्थीलाई स्नान गर्न सहज हुने र नदी पनि सफा देखिनेछ,” सूचना अधिकृत नेपालले भन्नुभयो। यो क्रम आगामी तीन दिनसम्म निरन्तर जारी रहने समितिले जनाएको छ।

बाग्मतीको बहाव बढाउन धाप ड्यामका साथै मेलम्ची खानेपानी आयोजनाको पानी पनि उपयोग गरिने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार सुन्दरीजल प्रशोधन केन्द्रमार्फत आज साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म करिब ५ करोड लिटर मेलम्चीको पानी बाग्मतीमा पठाइने तयारी छ।

सुन्दरीजल पानी प्रशोधन आयोजनाका प्रमुख हेम बुढाथोकीले यसका लागि मेलम्ची खानेपानी विकास समितिसँग समन्वय भइसकेको जानकारी दिनुभयो।

उपत्यकावासीलाई वितरण गरिने खानेपानीमा भने यसले कुनै असर नपार्ने केयुकेएलले स्पष्ट पारेको छ। “हामीले दैनिक १७ करोड लिटर पानी उपभोक्तालाई वितरण गर्दै आएका छौँ। मेलम्चीबाट थप पानी ल्याएर बाग्मतीमा पठाइने भएकाले वितरण प्रणालीमा प्रभाव पर्दैन,” प्रमुख बुढाथोकीले आश्वासन दिनुभयो।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको धाप ड्याम मुख्यगरी हिउँदमा बाग्मतीको अस्तित्व जोगाउन निर्माण गरिएको हो। एसियाली विकास बैंकको ८९ करोड रुपैयाँ सहयोगमा बनेको यो जलाशय १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

यद्यपि, ड्यामको क्षमता सीमित भएकाले हिउँदभर दैनिक पानी छाड्न कठिन देखिएको छ। हाललाई महाशिवरात्रि, छठ जस्ता विशेष पर्वहरूमा मात्र ठूलो मात्रामा पानी छाडेर नदीको बहाव कायम गर्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *