२६३औँ सेना दिवस: राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन, ‘सिपाही–२०८२’ विमोचन

काठमाडौँ, ३ फागुन । नेपाली सेनाले आफ्नो २६३औँ स्थापना दिवस तथा महाशिवरात्रि पर्व आज (आइतबार) सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहका बीच भव्य रूपमा मनाएको छ । समारोहका मुख्य अतिथि एवं नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो ।

नेपाली सेनाले प्राचीन कालदेखि नै शिवलाई शान्ति र सुरक्षाको प्रतीक मान्दै महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

समारोहमा राष्ट्रपति पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित सेनाको वार्षिक मुखपत्र ‘सिपाही–२०८२’ विमोचन गर्नुभयो । सोही अवसरमा उहाँले ‘फ्री फल जम्प’ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रमुख सेनानी विवेक विक्रम शाह र दोस्रो हुने हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कृत गर्नुभयो ।

यस्तै, समारोहमा सैनिक व्याण्ड प्रस्तुत गर्ने मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सैनिक टोली प्रमुखहरूलाई पनि राष्ट्रपतिले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

उत्सवका क्रममा सेनाको हेलिकप्टर र ड्रोनमार्फत पुष्पवृष्टि गरिनुका साथै ‘सेना दिवस–२०८२’ अङ्कित ब्यानर प्रदर्शन गरिएको थियो । सेनाका विभिन्न टुकडीले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ (salute) र कवाज प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाको रणकौशल, परम्परागत वेशभूषा झल्कने विविध सांस्कृतिक नृत्य, सङ्गीत र खुकुरी ड्रिलले टुँडिखेलको रौनक बढाएको थियो । सो अवसरमा सेनाले प्रयोग गर्दै आएका अत्याधुनिक हातहतियार, सञ्चार उपकरण र सैनिक सवारी साधनहरूको समेत प्रदर्शनी गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको गरिमामय उपस्थिति रहेको थियो । यस्तै, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिज्ञहरू र समाजका लब्धप्रतिष्ठित महानुभावहरू पनि बढाइँ अवलोकन गर्न टुँडिखेल पुग्नुभएको थियो ।

समारोह हेर्न टुँडिखेल वरपर सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाल टेलिभिजन लगायतका सञ्चारमाध्यमले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।