कैलालीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु
कैलाली, ९ फागुन । सुदूरपश्चिमको धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ भएको भीषण दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) का अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
१. हरिश ओली (२२ वर्ष): धनगढी उपमहानगरपालिका–२ (मोटरसाइकल चालक – सुप प्र०१/०१०३१८७)
२. योगेन्द्र शाह (२६ वर्ष): गोदावरी नगरपालिका–१ (मोटरसाइकल चालक – सुप प्र०१/००९प७७८१)
३. हरिश पार्की (२३ वर्ष): गोदावरी नगरपालिका–१ (सोही मोटरसाइकलको पछाडि सवार)
दुर्घटनामा गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् । उनको हाल धनगढीमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार दुवै मोटरसाइकल निकै तीव्र गतिमा रहेका कारण दुर्घटना भयावह भएको हो । “घटनास्थलको प्रकृति हेर्दा मोटरसाइकलहरू प्रतिघण्टा १०० किलोमिटरभन्दा बढीको गतिमा रहेको देखिन्छ,” डीएसपी चन्दले भन्नुभयो, “ठक्कर यति शक्तिशाली थियो कि मोटरसाइकलका पाङ्ग्रा र अन्य पाटपुर्जाहरू उछिट्टिएर टाढा पुगेका छन् ।”
प्रहरीका अनुसार मृतक योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । यस्तै, अर्का मृतक हरिश ओली गोदावरीमा एक विवाह समारोहमा सहभागी भएर धनगढीतर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् ।
प्रहरीले दुवै दुर्घटनाग्रस्त सवारी साधन नियन्त्रणमा लिएको छ र घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।