निर्वाचन हुनेमै फेरि आशङ्का उब्जियो, धाँदलीको त्रास हटाउन सरकारलाई अध्यक्ष ओलीको आग्रह

बिर्तामोड, १० फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन हुने कुरामा फेरि आशङ्का उब्जिएको बताउनुभएकाे छ । चुनावी अभियानका क्रममा शनिबार झापाको बिर्तामोड आइपुग्नुभएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अब कुनै पनि बहानामा चुनाव नरोक्न सरकारलाई सचेत गराउनुभएकाे छ ।

समाजमा चुनाव रोकिने हो कि भन्ने संशय पैदा भएको भन्दै उहाँले त्यसलाई चिर्ने दायित्व सरकारको भएको स्पष्ट पार्नुभयाे । “आम मानिसमा निर्वाचनमा धाँदली हुन सक्ने गम्भीर आशङ्कासमेत देखिएको छ,” अध्यक्ष ओलीले भन्नुभयाे, “सरकारले तत्काल यस्ता आशङ्काहरूलाई निवारण गर्दै स्वतन्त्र र निष्पक्ष चुनावको सुनिश्चितता गर्नुपर्छ ।”

‘शान्ति सुरक्षाको प्रत्याभूति गराऊ’
अध्यक्ष ओलीले शान्ति सुरक्षाको विषयलाई लिएर नागरिक अझै ढुक्क हुन नसकेको भन्दै तत्काल भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

आफ्नो दल नेकपा एमाले शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष निर्वाचनको पक्षमा रहेको र त्यसका लागि पूर्ण रूपमा सघाउन तयार रहेको उहाँले प्रष्ट पार्नुभयाे ।

“हामी चुनावमा होमिसकेका छौँ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन एमाले हरेक किसिमले सहयोग गर्न तयार छ,” अध्यक्ष ओलीले प्रतिबद्धता जनाउँदै भन्नुभयाे, “एमाले चुनावको वातावरण बिगार्ने वा बिथोल्ने कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न हुँदैन ।”