सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सुनसरी, १४ फागुन । सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान बराहक्षेत्र नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको र बुधबार राति इटहरीमा कारको ठक्करबाट अर्का एक जनाको ज्यान गएको हो ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रबहादुर खड्काका अनुसार आज बिहान बराहक्षेत्र नगरपालिका–११, गुप्ताटोलस्थित भित्री सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेवको उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा परी दुहबी–५ कै दिपेन ऋषिदेव घाइते हुनुभएको छ । उहाँको हाल उपचार भइरहेको छ ।

यसैगरी, इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी राजमार्गमा गएराति कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको सोही कारले अगाडि जाँदै गरेको प्र १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत पछाडिबाट ठक्कर दिएको थियो । डिएसपी खड्काका अनुसार उक्त दुर्घटनामा परी टेम्पो चालक इटहरी–२० का ४४ वर्षीय वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र कारका चालक इटहरी–१२ का २२ वर्षीय विकी विश्वकर्मा सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुवै घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ ।